पत्रकार महासंघ उदयपुरले ‘गुगल फारम’को प्रयोग गर्दै आएको प्रति प्रेस सेन्टर उदयपुरको असहमति

उदयपुर । नेपाल पत्रकार महासंघ, उदयपुर शाखाले डिजिटल प्रणालीमार्फत सदस्यता नवीकरण प्रक्रिया अघि बढाएपछि प्रेस सेन्टर नेपाल, उदयपुरले असन्तुष्टि जनाएको छ । शाखाले गुगल फारममार्फत विवरण संकलन गरी सदस्यता नवीकरणको सूचना सार्वजनिक गरेपछि सुरक्षासम्बन्धी चिन्ता व्यक्तगर्दै प्रेस सेन्टरले औपचारिक रूपमा आपत्ति जनाएको हो ।

प्रेस सेन्टर उदयपुरका अध्यक्ष अभिमन्यु लामिछानेका अनुसार, सदस्यताको पारदर्शिता कायम राख्ने नाममा अपनाइएको डिजिटल फारम प्रक्रिया सुरक्षित छैन । हामी शुल्क बुझाएर रसिद काट्ने विधिलाई नै विधिसम्मत र भरपर्दो मान्छौं, उनले बताए।

लामिछाने नेतृत्वमा प्रेस सेन्टरको टोलीले शुक्रबार पत्रकार महासंघ शाखा अध्यक्ष भक्तिविलास पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । उक्त ज्ञापनमा डिजिटल फारमको सट्टा परम्परागत विधिबाट सदस्यता नवीकरण गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष पोखरेलले सो विषयलाई उच्च तहसम्म लैजाने र महासंघको केन्द्रीय समितिमा छलफल गराउने प्रतिबद्धता जनाएका छन् । प्रेस सेन्टर उदयपुरका सचिव देनिश राईका अनुसार, उक्त ज्ञापन पत्र नेपाल पत्रकार महासंघको केन्द्र र प्रदेश कार्यालयसहित प्रेस सेन्टर नेपालका सबै तहका समिति समक्ष बोधार्थ गरिएको छ।

ज्ञापन पत्र सेन्टरका संस्थापन उपाध्यक्ष यदुप्रसाद ढकाल, केन्द्रीय सचिवायल सदस्य गजेन्द्र राई, केन्द्रीय सदस्य विदुर कटुवाल, यमन दनुवार, जिल्ला इन्चार्ज राकेश नेपाली, उपाध्यक्ष गोपालकृष्ण तिमल्सिना र कोषाध्यक्ष युवराज कार्की (सन्तोष) लगायतको सहभागिता रहेको थियो ।

भिडियोः

Facebook Comments