



वीरगञ्ज । पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलासका न्यायाधीशमाथि कालो मसी प्रहार भएको छ। वीरगञ्जस्थित अदालत परिसरभित्रै बिहीबार नेकपा बहुमत पार्टीसँग आबद्ध कार्यकर्ताहरूले न्यायाधीश खुशीप्रसाद थारुलाई कालो मसी छ्यापेका हुन्।
जिल्ला अदालत रौतहटबाट विष्फोट, हत्या लगायतका संगीन अभियोगमा दोषी ठहर भई जेल सजाय भोगिरहेका आलमलाई यही जेठ १४ गते उच्च अदालतको संयुक्त इजलास — न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनको बेञ्च — ले सफाइ दिएको थियो। अदालतले आलमविरुद्ध पर्याप्त प्रमाण पेश नभएको र मुद्दा चलाउनु नपर्ने भन्ने महान्यायाधीवक्ताको अघिल्लो निर्णय र सर्वोच्च अदालतको परमादेशलाई आधार मानेको थियो।
सार्वजनिक भएको संक्षिप्त फैसलामा, त्रिलोक प्रकाश सिंह (पिन्टु) र ओशी अफताबलाई ट्र्याक्टरमा हाली इँटा भट्टामा जलाइएको दाबी प्रमाणित नहुने उल्लेख छ। यद्यपि फैसलाको पूर्ण पाठ अझै सार्वजनिक भएको छैन।
न्यायाधीश थारुमाथिको आक्रमण न्यायपालिकामाथिको आस्थालाई चुनौती दिने कार्य भएको भन्दै कानूनी वृत्तमा आलोचना सुरु भएको छ। अदालतको स्वतन्त्रतामा हस्तक्षेपको रूपमा हेरिएको यो घटनाले राजनीतिक दलहरूको दबाब र आक्रोशले न्यायिक प्रक्रियामा कस्तो प्रभाव पार्न सक्छ भन्ने गम्भीर प्रश्न उठाएको छ।