कटारी प्रशासकीय भवन उद्घाटनमा, नामको राजनीतिले ओझेल पार्‍यो विकासको उपलब्धि

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा शनिबार सम्पन्न प्रशासकीय भवन उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्यहरूले शिलालेखमा नाम समावेश नगरेको भन्दै असहमति जनाएका छन् । कार्यक्रमको मूल उद्देश्य नवनिर्मित भवन हस्तान्तरण भए पनि, कार्यपालिका सदस्यहरूले आफुहरुको नाम शिलालेखमा शिलालेखमा समावेश नगरेको भन्दै असहमति जनाएका हुन् ।

करिब तीन करोड १५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको शिलालेखमा नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख र केही वडाध्यक्षहरूको मात्र नाम उल्लेख गरिएको छ । तर कार्यपालिका सदस्यहरूले सबै सदस्यहरूको पदीय जिम्मेवारी बराबर भएको दाबी गर्दै, आफूहरूको नामसमेत समावेश हुनुपर्ने माग गरेका छन् ।

कार्यपालिका सदस्य देवीकुमारी घिमिरेले शान्तपूर्वक असहमति जनाउँदै भनिन्, “हामी नाम लेख्नै पर्छ भनेर जिद्दी गरेका होइनौं। तर, यदि केही पदाधिकारीको नाम राखिएको छ भने सबै निर्वाचित पदाधिकारीको नाम समावेश हुनु न्यायोचित हुन्छ।” नगर प्रमुख श्रेष्ठले भने शिलालेख निर्माणको प्रक्रिया प्रशासनिक टोलीको सिफारिसअनुसार गरिएको बताए ।

उनले थपे, “उद्घाटनको मूल उद्देश्य प्रशासनिक कामकारबाहीलाई व्यवस्थित गर्नु हो, त्यसैले यस्ता विषयहरूलाई संवादमार्फत समाधान गर्न सकिन्छ ।” नगरपालिकाका केही अन्य सदस्यहरूले यो विषयलाई संस्थागत प्रक्रियामा स्पष्टता नहुँदा आएको भनी व्याख्या गरेका छन् ।

उनीहरूले भविष्यमा यस्ता कार्यमा समानता र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । विवादका बाबजुद कार्यक्रम शान्तिपूर्वक सम्पन्न भएको थियो भने नवनिर्मित भवन अबदेखि नगरपालिकाको औपचारिक प्रशासनिक कार्यका लागि प्रयोगमा आउनेछ ।

Facebook Comments