



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलाइएको सरकारको रूपमा चित्रण गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो सरकार सुशासन विरोधी र गैरजिम्मेवार भएको आरोप लगाए ।
प्रचण्डले राजनीतिक चेत भएका जो-कोहीले अहिलेको सरकारलाई बिचौलियाहरूको सरकार भनेर स्वीकार गरिसकेको दाबी गरे । उनका अनुसार, अहिलेको सत्ता संरचना दलाल पुँजीपति, बिचौलिया र नोकरशाहीको हितमा काम गरिरहेको छ भने इमानदार र राम्रो काम गर्नेहरूलाई दण्डित गरिरहेको छ ।
उनले भने, “देशमा अहिले अत्यन्त विचित्र स्थिति बनेको छ । सडकमा लाखौँ शिक्षक आन्दोलनरत छन्, झण्डै एक महिना हुन लाग्दा पनि सरकारले गम्भीरता देखाएको छैन । बरु सरकार र नेतृत्वले शिक्षक आन्दोलनलाई अराजक बनाउने र शिक्षक समुदायलाई अपमानित गर्ने काम गरिरहेको छ।”
अध्यक्ष दाहालले शिक्षकहरूसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । माओवादी केन्द्रले ती सहमतिअनुसार शिक्षकहरूको माग सम्बोधन गर्न र छोटो प्रक्रियाबाट ऐन निर्माण गर्नुपर्ने धारणा राखेको उनले स्पष्ट पारे।
त्यस्तै, उनले राजावादी शक्तिहरूको गतिविधि र रणनीति चैत्र १५ पछि पूर्ण रूपमा असफल भइसकेको र गणतन्त्र पक्षधरहरू विजयी भएको दाबी पनि गरे।