



नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै उदयपुरमा विरोध प्रदर्शन भएको छ । बुधबार दिउँसो, गाईघाटमा विभिन्न युवा तथा विद्यार्थी संगठनहरूले सरकारको निर्णयको विरोधमा ठूलो प्रदर्शन गरेका छन्।
प्रदर्शनको आयोजना योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) द्वारा गरिएको थियो । यी संगठनहरू क्रमशः नेकपा माओवादी केन्द्रका युवा र विद्यार्थी संगठन हुन् । प्रदर्शनकारीहरूले हातमा राष्ट्रिय झन्डा, माओवादी झन्डा, र विभिन्न प्लेकार्डसहित गाईघाट बजार परिक्रमा गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै सरकारको कदमलाई आलोचना गरेका थिए । उनीहरूले भनें, “कुलमान घिसिङलाई हटाएर सरकारले विद्युत् क्षेत्रको उज्यालो भविष्यलाई धकेलेको छ ।” साथै, कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरण घाटाबाट नाफामा पुगेर समृद्धि तर्फ अघि बढेको बताउँदै सरकारले दलाल र विचौलियाको पक्षमा काम गरेको आरोप पनि लगाएका छन् ।
प्रदर्शन पछि पिपलचोक (लोकतान्त्रिक चोक)मा आयोजित कोणसभामा माओवादी नेताहरूले सम्बोधन गरेका थिए । त्यसैगरी, गाईघाटको पिपलचोकमा स्वतन्त्र नागरिक अगुवाहरूले सामूहिक रूपमा मैनबत्ती बालेर कुलमान घिसिङको हटाइने विरोध जनाएका छन् । उनीहरूले कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेर प्राधिकरणलाई नाफामा पुर्याए, उनले काम नगर्ने सरकारले यस्तो निर्णय गरेकोमा दुख लागेको छ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा मन्त्री दीपक खड्काको राजीनामा समेत माग गरेका छन् । उनीहरूले कुलमान घिसिङको पुनर्बहाली नभए अझ सशक्त आन्दोलन गर्ने बताए । यसैबीच, कटारी, चौदण्डीगढी, र बेलका जस्ता अन्य स्थानमा पनि वाईसिएल र अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।
भिडियोः