बालक्लवका पदाधिकारीलाई क्षमता विकास तालिम

उदयपुर । वालमैत्री नगर घोषणा तयारी स्वरुप उदयपुरको त्रियुगा नगरपालिकाले बालबालिका लक्षित अभियानलाई तिव्रता दिएको छ । निकट भविश्यमा नै वडा हुँदै सिङ्गो नगरपालिकालाई वालमैत्री घोषणा गर्ने कार्यक्रम अनुरुप नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाले तयारी थालेको हो । अभियानलाई सार्थक बनाउन नगरपालिकाले बालक्लवका पदाधिकारीको क्षमता अभिवृद्धी गर्ने उदेश्यले अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

तीन दिनसम्म सञ्चालित अनुशिक्षणमा नगरपालिकाका सामाजिक शाखा प्रमुख राजकुमार खड्का, महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख निरु कार्की, वरिष्ठ पत्रकार कौशल चेम्जोङ्ग, सामाजिक अभियन्ता भरत खड्का, सागर नेपाल, राम बस्नेत लगायतले सहजिकरण गरेका थिए । उनीहरुले बालअधिकारको जानकारी गराउँदै बालबालिकाको ऐतिहासिक विकासक्रम, ऐन, कानुन, महासन्धी, बालक्लव तथा संजाल गठन, दर्ता प्रकृया बैठक, प्रस्ताव, निर्णय लेखन, नेतृत्व विकास सम्बन्धि जानकारी दिइएको शाखा प्रमुख निरु कार्कीले बताईन् ।

त्यसैगरी वालमैत्री स्थानीय शासन सुचकहरु, डकुमेन्ट्र प्रर्दशन, वालविवाह, लागुपदार्थ दुव्र्यसन न्युनिकरणमा वालक्लव र संजालको भुमिका साथै काम, कर्तव्य र अधिकार, कार्ययोजना निर्माणका बिषयमा छलफल सहित अनुशिक्षण दिइएको उनले बताईन् । तालिम पश्चात सहभागिहरुले आफुले काम गर्दाका समस्या, चुनौती सेयर गरेका थिए । उनीहरुले आफुहरु संजालमा बसेकैकारण वक्तृत्वकला, नेतृत्व र निर्णय क्षमताका साथै चौतर्फी बिकासमा सहयोग पुगेको बताएका थिए ।

कार्यक्रमको समापन गर्दै मेयर बसन्तकुमार बस्नेतले बालबालिकालाई अध्ययनमा मात्र सिमतिगर्दा चौतर्फी विकास नहुने भएकाले भविश्यमा नेतृत्व गर्ने गरी तालिमको आयोजना गरिएको बताए । उनले समयको मागसँगै बालबालिका प्रविधिमा अब्वल हुँदै गएकाले नगर क्षेत्रका सबै बिद्यालयलाई प्रविधिमैत्री बनाउने योजना अघि सारिएको बताए । तालिममा नगर क्षेत्रकाट ३० जना बालबालिकाको सहभागिता रहेको थियो । १६ वटा वडा रहेको नगरपालिकामा वडानं १५ वाहेक सबै वडा बालमैत्री वडा घोषणा गर्न बाँकी रहेको शाखा प्रमुख कार्कीले बताईन् ।

Facebook Comments