कृशला हत्याका कसुरदारलाई आजिवन कारावास फैसला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षिय कृशला चौधरी बलात्कार पछि हत्या प्रकरणमा दुई जना प्रतिवादीलाई जिल्ला अदालतले जन्मकैद (जिवीत रहेसम्म) फैसला सुनाएको छ । न्यायाधिश नवराज दुलालको एकल इजलासले घटनामा दोषि देखिएका सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारीका २७ बर्षिय उचितलाल सदा र सोही ठाउँका २४ बर्षिय बिषे सदालाई कसुर ठहर गर्दै आजिवन काराबासको फैसला सुनाएको हो ।

फैसलामा तत्काल पीडित राहत कोषबाट दुई लाख नजिकको हकदारलाई उपलब्ध गराउन र प्रतिवादीहरुबाट जनही तीन लाखका दरले क्षतिपुर्ति भराउनसमेत आदेश भएको सूचना अधिकारी बुद्धराज निरौलाले जानकारी दिए । प्रतिवादीबाट पीडित परिवारलाई क्षतिपुर्ति उपलब्ध नभए चलअचल सम्पतीबाट असुल गर्न आदेश भएको उनले बताए ।

२०७८ साउन १३ गतेदेखि वेपत्ता भएकी कृशला १९ गते घर नजिकको राजदेवी सामुदायिक वन क्षेत्रमा शरिर सडेगलेको अवश्थामा फेला परेकी थिईन् । प्रहरी मृतकको शव फेला पारेको १२ दिन पछि अनुसन्धानबाट साउन ३० गते उनीहरुलाई पक्राउ गरेको थियो । निकै रहस्यपूर्ण घटनालाई प्रहरीले आधुनिक प्रविधिको प्रयोग तथा ककुर परिचालन गरी सफलता हात पारेको थियो ।

Facebook Comments