अर्थतन्त्र सुधारन्मुखः गभर्नर अधिकारी

चौदण्डिगढी । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारन्मुख रहेको बताएका छन् । उदयपुरको चौदण्डिगढी नगरपालिका ६ स्थित जनज्योति माध्यमिक बिद्यालय परिषरमा नवनिर्मित सरस्वति मन्दिरको बिहीबार उद्घाटन गर्दै अधिकारीले नेपालको अर्थतन्त्र चाँडै सुधारमा आउने विश्वास व्यक्त गरे ।

करिव १५ लाखको लागतमा निर्मित उक्त मन्दिर वडानं ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना २५ बर्षिय छोरा युगान्त र १९ बर्षिया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका हुन् । स्वर्गिय भतिज र भतिजिको नाममा निर्माण भएको मन्दिरको उद्घाटन गर्दै गभर्नर अधिकारीले विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पुर्याएपनि पछिल्लो चार महिना यता सुधार हुँदै गएको दावि गरे ।

उनले साना व्यवसायिलाई संरक्षण गर्ने गरी नीतिहरु बनाईएको बताए । अधिकारीले वित्तिय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंङ्कि कारोवारमा जोड्ने अभियान सुरु गरिएको बताए । यससकासाथै बिद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रममार्फत बैंक सम्बन्धि जानकारी दिने काम सुरु गरिएको बताए ।

कार्यक्रममा चौदण्डिगढीका मेयर कालुमान लामाले सामान्य किसानसँग जोडिने गरी राष्ट्र बैंकले कार्यक्रम सञ्चालन गरिनु पर्ने बताए । उनले गरेर खान्छु भन्ने दृढ इच्छाशक्ति भएका सामान्य नागरिकलाई बैंकले ऋण नदिने र आफुसँग लगानी गर्ने स्रोत नहुँदा आर्थिक समृद्धीका बाटोहरु बन्द भएको बताए ।

उपमेयर मणिकादेवी दुलालले सस्तो व्याजदरमा सामान्य किसानले बैंकबाट ऋण पाउने हो भने मुलुक समृद्धशाली बन्न कुनै समय नलाग्ने बताईन् । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक राजकुमार ओझाले बिद्यालयले हालसम्म गरेका गतिविधी, प्रगति प्रतिबेदन सुनाएका थिए । माध्यमिक तहसम्म १ हजार ६ सय बिद्यार्थी रहेको उक्त बिद्यालय नगरपालिकाकै नमुना बिद्यालय हो ।

Facebook Comments