दमौटि क्षेत्रबाट ठूलो मात्रामा अबैध काठ चोरी निकासी

उदयपुर । स्थानीय निर्वाचनको व्यस्त समय पारेर उदयपुरमा अबैध काठ चोरी निकासी भएको पाईएको छ । चोरी निकासी जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर ५ दमौटि आसपासमा रहेको विभिन्न सामुदायिक बन क्षेत्रबाट ठूलो मात्रामा काठ चोरी निकासी भएको पाईएको हो ।

यसरी चोरी निकासी हुने बनहरु गैरीखोला, अम्विका र चित्री सामुदायिक बन उपभोक्ता समिति रहेका छन् । सो क्षेत्रबाट ठूलो मात्रा अबैध काठ चोरी निकासी हुने गरेको गौरीखोला सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष राजकुमार राई बताउछन् । उनका अनुसार चोरी निकासी गर्ने क्रममा मंगलबार राती सात स्थानीय युवाहरु पक्राउ परेका छन् ।

उनिहरुको साथबाट साल जातको आठ टुना डल्लो काठ बरामद भएको छ । पक्राउ पर्नेहरुमा स्थानीय बर्ष ३५ को तुलबहादुर राई, बर्ष २६ को मानबहादुर राई र बर्ष २२ को धनकुमार बस्नेत रहेका छन । त्यसैगरि पक्राउ पर्नेहरुमा बर्ष ३५ को थिताम्बर राई, बर्ष ३५ को अभङ राई, बर्ष २३ को मेघराज राई र बर्ष २५ को ताराबहादुर राई रहेका छन् । उनिहरु गैरीखोला सामुदायिक बन क्षेत्रबाट काठ सहित पक्राउ परेका हुन् ।

यसरी दैनिक रुपमा आफुहरुको बन क्षेत्रबाट अबैध काठ चोरी निकासी हुने गरेको भन्दै अर्का अम्विका सामुदायिक बनका उपभोक्ताहरुले कार्वाहीको लागि उजुरी दिएका छन् । उनिहरुले सव डिभिजन बन कार्यालय जलजलेमा उजुरी दिएका हुन् ।

उनिहरुले शंकास्पद व्यक्तिहरुमाथी अनुसन्धान र केही घरहरुमा खनतलासी गर्नका लागि उजुरी दिईएको स्थानीय ईश्वर राईले बताए । तर, हालसम्म त्यस उजुरीमाथी कुनै कार्वाही हुन सकेको छैन । यसरी निरन्तर काठ चोरी निकासी हुनुमा सामुदायिक बन र त्यस क्षेत्र हेर्ने सब डिभिजन बन कार्यालयमा कार्यरत कर्मचारीहरुको कम्जोरी हुनसक्ने उनिहरुको बुझाई छ ।

Facebook Comments