त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका– १२ मा उत्पन्न विवादपछि स्थगित भएको मतगणना कार्य सुरु भएको छ । १२ दिनदेखि स्थगित निर्वाचन प्रक्रियालाई निर्वाचन आयोगले मतगगणना कार्य सुचारु गर्ने गरी निर्णय गरेपछि गण्ना सुरु भएको हो ।
आयोगको सोमबार बसेको बैठकले झरेको मतलाई सदर गर्दै गणना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयसँगै पुनःनिर्वाचनका प्रक्रिया निष्कृय भएका छन् । मुख्य निर्वाचन अधिकृत उत्तम सलुवालका अनुसार केहि गणना कार्यको तयारी अन्तिम चरणमा रहेका छ । उनले सोमबार बेलुका मात्र आयोगको पत्र आएकाले मंगलबार विहान तयारीका लागि केही समय लागेको बताए । आयोगको पत्र मंगलबार बिहान मात्र सार्वजानिक भएको थियो ।
असार ३० गते अन्तिम समयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो । त्यस बिषयलाई लिएर पुनःमतदान कि गणना भन्ने विषयमा दलहरु विभाजित भएका थिए । समयमा आयोगले निर्णय दिन नसक्दा मतगणना र पुनःमतदानका पक्षमा उच्च अदालतमा फरक–फरक रिट दायर भएका थिए ।
बैशाख ३० वडा नं. १२ को जनप्रेमी आधारभूत विद्यालयमा मतदान प्रक्रिया जारी रहँदा अकास्मात ३ः३० बजे मतदान गर्ने विषयमा विवाद सिर्जना भएपछि मतदान कार्य स्थगित भएको थियो । भारी बर्षातका कारण मतपत्र र मतपेटिका सुरक्षित गर्नेक्रममा मत खसाल्न लाईनमा लागेका केही मतदाताले मत लगाउन नपाएपछि विवाद सिर्जना भएको थियो ।
उक्त वडामा ३ हजार १९२ मतदाता रहेका छन् त्यसमध्ये १ हजार ७१५ मत खसेको छ । ५३ दशमलव ७२ प्रतिशत मत अर्थात आधाभन्दा बढी मत खसिसकेकाले त्यसैको आधार मानेर गणना गर्नुपर्ने नेकपा एमालेको भनाई थियो । ६० हजार ६५७ मत रहेको त्रियुगा नगरपालिकामा ४० हजार १७३ मत खसेको छ ।