



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पतालको भवन र सेवा सूचारु भएको छ । पुर्वप्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले शुक्रबार सो अस्पतालको भवन र सेवा सूचारुको उद्घाटन गरेका हुन् ।
अध्यक्ष ओली भवन र सेवा सूचारुको उद्घाटन गर्न हेलिकोप्टर चढेर दिउँसो सदरमुकाम गाईघाट आईपुगेका थिए । पहिलो पटक आफ्ना नेताको नामबाट बनेको अस्पताल र यसको सुविधा प्रति अध्यक्ष ओलीले चर्चा गरेका थिए । २५ जना अप्रेशनका विरामीको आँखाको पट्टी खोलेर उनीहरुको अवश्था बुझ्दै मञ्चमा पुगेका अध्यक्ष ओलीले करिव २० मिनेटको मन्तव्यमा खर्चिए ।
सो अस्पतालका अध्यक्ष भागवत राउतले केपी ओली नेतृत्वको सरकारको पालामा स्वास्थ्य मन्त्रालयबाट २ करोड मुल्यको प्रविधि उपलब्ध भएको बताए । उनले आँखा र कानको उपचार सँगै केहि समय भित्रै किड्नीका विरामीका लागि डाइलासिस सेवा उपलब्ध गराउने तयारी थालिएको बताए । कार्यक्रममा अस्पतालको सेवा सुचारु र भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो ।
अस्पताल सञ्चालनका लागि नेपाल सरकारले २ करोडको उपकरण, आईकियर फाउण्डेसनले ४ बर्षका लागि चिकित्सकको सुविधामा खर्च गर्ने गरी ७५ लाख र सेवा फाउण्डेसनबाट सहयोगको गरेको छ ।
सगरमाथा आँखा अस्पताल लाहानको प्राविधिक तथा नेत्र ज्योति संघको व्यवथापनमा २०६५ सालबाट प्राथामिक सेवा सुचारु गरिएको अस्पतालमा हालसम्म १ लाख ७० हजार ५सय २८ जनाले सेवा लिएको अध्यक्ष राउतले बताए ।
भवननिर्माणमा संबिधानसभा सदस्य मन्जुकुमारी चौधरीको निर्वाचन पुर्वाधार विकास कार्यक्रमबाट ४० लाख, जापानिज राजदुतावासबाट ९० लाख ५० हजार, १ नम्बर प्रदेश सरकारबाट भवन निर्माण ५० लाख र अस्पताल जाने सडक निर्माणमा ३२ लाख, सडक विभागमदन भण्डारी सडक आयोजनाबाट २२ लाख बराबरको १ सय ८० मिटर कालोपत्रे सडकमा सहयोग भएको जनाइएको छ ।