उदयपुरबासी किराँतीहरुद्धारा ‘खुवालुङ’ भ्रमण तथा अवलोकन (फोटो फिचर सहित)

खुवालुङ । उदयपुर, धनकुटा र भोजपुरको संगमस्थल सप्तकोसी नदीमा रहेको ‘खुवालुङ’लाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने उद्देश्यले उदयपुरका दुई नगरपालिकामा बसोबास गर्ने किराँतीहरुले भ्रमण तथा अवलोकन गरेका छन् । अवलोकन गर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकामा बसोबास गर्ने किराँतीहरुले भ्रमण तथा अवलोकन गरेका हुन् ।

उनिहरुले सोमबार खुवालुङस्थलमा पुगेर भ्रमण तथा अवलोकन गरेका थिए । भ्रमणको क्रममा किराँतका अगुवाहरुले कसैको धर्म–संस्कृतिको इतिहासलाई मासेर गरेको विकास सकारात्मक र दिगो नहुने बताएका छन्  ।

उनिहरुले खुवालुङलाई वैकल्पिक उपाय अपनाएर सरकारले विकासलाई अगाडि बढाउनुपर्ने बताए । सप्तकोसीमा जलयात्राको मार्ग सहज बनाउन धर्म–संस्कृतिको इतिहास मास्न नहुनेसमेत उनिहरुको भनाई छ ।

बिशेषगरि किराँत धर्मावलम्बीहरूको प्राचीन इतिहास बोकेको ‘खुवालुङ’को चर्चा भएसँगै मुलुकभर छरिएर बसेको किराँतीहरुले दैनिकजसो अवलोकन तथा भ्रमण गर्दै आएका छन् । प्रधानमन्त्री केपी ओलीले सप्तकोसीमा जल यातायात मार्ग सहज बनाउन नदीभित्र रहेको ठूलो ढुंगा फुटाउने बताएपछि ‘खुवालुङ’ एकाएक चर्चामा आएको हो ।

किराँत समुदायको धर्म–संस्कृतिको पहिचान मात्र नभएर पूर्वीय सभ्यताको प्राचीन इतिहास भएकाले ‘खुवालुङ’ फुटाउन नदिने भन्दै किराँतका अगुवाहरूले विरोध जनाउदै आएका छन्  । त्यसैक्रममा उनिहरुले पनि भ्रमण तथा अवलोकन गरेका हुन् ।

भ्रमण तथा अवलोकनको क्रममा किरात राई यायोक्खा जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष वलधन राई, बरिष्ठ संरक्षक गणेश पुमा राई, आदिवासी जनजाति महासंघ चौदण्डीगढी नगर समितिका अध्यक्ष मणि राई, आदिवासी जनजाति महासंघ बेलका नगर समितिका अध्यक्ष ललित राई, प्राध्यापक ध्रुवराज राई, पत्रकारहरु गजेन्द्र राई, पत्रकार राजेन्द्र दुष्ट र युवा कबि जीवन चाम्लिङसमेतको सहभागिता रहेको थियो ।

सुनसरीको चतारादेखि उत्तरमा रहेको कोसीपुल क्षेत्रबाट सप्तकोसी नदीमा साना पानीजहाज (मोटरबोट) सञ्चालन भइरहेका छन्  । ‘खुवालुङ’ चर्चामा आएपछि पानीजहाज चढेर ठूलो संख्यामा हेर्न जानेहरू बढेको जल यातायातकर्मीले बताउदै आएका छन् । उदयपुरको मैनामैनी, भोजपुरको सहिदभूमि र धनकुटाको साँगुरीगढी गाउँपालिकाको संगमस्थल त्रिवेणी नदीको बीचमा खुवालुङ रहेको छ ।

फोटो फिचरः

Facebook Comments