




काठमाडौं । विगत नौ महिनायता बालुवाटारबाट खासै बाहिर ननिस्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप र सक्रियता एकाएक बढेको छ । शनिबार मात्रै ओलीले तीन वटा महत्वपुर्ण राजनीतिक भेटघाट गरेका छन् ।
यसअघि त्यस्ता भेटघाट गर्दा बालुवाटारमै गर्ने ओेलीले शनिबार भने आफै बाहिर निस्के । त्यसका लागि उनी शनिबार बिहान ११ बजे पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगे भने साँझ राष्ट्पति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुगेका हुन् ।
पौने ६ बजे शीतलनिवास पुगेका ओली र राष्ट्पति भण्डारीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ । यसअघि आजै बिहान खुमलटारबाट बालुवाटार फर्कदा ओली मन्त्रीहरुको निवास पुल्चोक पसेर गृहमन्त्रीसहित अन्य चार मन्त्रीहरुसँग समेत भेटवार्ता गरेका थिए ।
मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीको दौडधुपलाई अर्थपुर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीले गत मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएका थिए ।
त्यसपछि उनको चौतर्फी आलोचाना हुनुका साथै अध्यादेश फिर्ता लिन दवाव परेको छ । नेकपाले उक्त अध्यादेश फिर्ता गर्न निर्देशनदिएपनि प्रधानमन्त्री ओलीले राजनीतिक सहमति नजुट्दासम्म फिर्ता नलिने बताउदै आएका छन् ।
सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै नेकपाको एक समूहले उनको बहिर्गमनको माग गरिरहेको छ । तर, उनले त्यसलाई रोक्न अनेक उपायहरु अपनाएपनि असफल हुदै आएका छन् ।
यता प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र विपक्षी जसपाबीच आजै २ बुँदे सहमति भएको छ । काँग्रेस र जसपाबीच तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड संक्रमण, आर्थिक संककट लगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री ओलीमाथि थप दवाव बढाउन गरी विपक्षी दल समन्वयकारी रुपमा अगाडि बढ्ने तयारीमा देखिन्छ ।