अलैंची बेर्नामा आत्मनिर्भर बन्दै ओखलढुंगा

ओखलढुंगा, २४ चैत्र / अलैंचीको बेर्नामा जिल्ला आत्मनिर्भर बनेको छ । जिल्लामा बेर्ना उत्पादनलाई निरन्तरता दिन सके बाहिरबाट झिकाउन नपर्ने कृषि विकास कार्यालयले जनाएको छ ।

बेर्ना उत्पादन र कृषकको मागलाई तुलना गर्दा अलैंचीको बेर्ना उत्पादनमा जिल्ला आत्मनिर्भर बनेको हो । जनता कृषि सहकारी संस्था बिलन्दुले यो वर्ष मात्रै रोप्न योग्य करिब २ लाख बेर्ना तयार गरेको छ । ‘हामीसँग तीन वर्ष पूरा भएर रोप्न मिल्ने भएको बेर्ना उत्पादन भइसकेको छ,’ सहकारीका अध्यक्ष अजय लुइँटेलले भने, ‘यही वर्षका लागि कृषकको मागलाई पूरा गर्ने पर्याप्त बेर्ना हामीसँग छ ।’

एक रोपनी क्षेत्रफलमा ७ सयदेखि ८ सय बोटसम्म अलैंचीको बेर्ना रोप्न सकिन्छ । हाल सहकारीले उत्पादन गरेको बेर्ना सबै रोप्ने हो भने करिब ३ सय रोपनी क्षेत्रफलका लागि पर्याप्त रहेको कृषि प्राविधिकहरूले जनाएका छन् । अलैंचीको बेर्ना उत्पादनलाई आगामी दिनमा निरन्तरता दिने सहकारीको लक्ष्य रहेको उनले बताए । जिल्लामै बेर्ना उत्पादन भएपछि सदाजस्तो इलाम, पाँचथर, ताप्लेजुङ, दोलखामा पुगेर बेर्ना ल्याउनुपर्ने समस्या समाधान भएको छ । सहकारीले प्रतिबेर्ना १२ रुपैयाँमै उपलब्ध गराउने जनाएको छ । २ सय ४ जना कृषक आबद्ध भएर सुरु गरेको सहकारीमार्फत अलैंची खेती पनि गरिरहेका छन् ।

जिल्लाको रावादोलु, भुसिंगा, खिजीफलाँटे, खिजीकाती, पोकली, चण्डेश्वरीलगायतका साविकका १२ भन्दा बढी गाविसमा अलैंचीको व्यावसायिक खेती सुरु भइसकेको छ । गत वर्ष उत्पादित अलैंचीले भनेजस्तो मूल्य नपाए पनि किसानहरू निराश भइहालेका छैनन् ।
जिल्ला कृषि कार्यालयका प्राविधिक सहायक हेम आलेमगरले अलैंचीको बेर्ना उत्पादनले जिल्ला आत्मनिर्भर भएको बताए । वरुणेश्वरको ढुस्केमा समेत बाबुराम गौतमले १ लाख ५० हजार बोट बेर्ना उत्पादन गरेको आलेले जनाए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *