- जीवन आरोही
भर्खर
मन्दिरमा बली चढेकाे
आलाे रगत झैँ विद्वेश गन्हाउने
कसले ओढायाे बा, हामीलाई
याे हिन्दुत्वकाे खाेल ?
याे खुला आकासमा सँगसगै फैलिएकाे ईन्द्रेणी रंगहरुलाई
एउटै आगनकाे बीचमा
कहिलेदेखी फूल्न दिइएन
खुला बगैचामा सप्तरंगी फूल ?
कहिलेदेखी भेट्न दिईएन
एउटा मान्छे र अर्काे मान्छे बीचकाे हृदय ?
उहिल्यैदेखी हिन्दुत्व पीएर
हिन्दु बिछ्याईएका दलानभरि
दलिइरह्याैँ दासत्वलाई स्वीकारेर
र बनायाैँ हिन्दुकै श्रीपेच र मुर्तीहरु ।
उनीहरुकाे मलामी निस्कने र भित्रने
चाैताराे, खलिया र गाेरेटाे पनि बनायाैँ ।
किन छुन सकेन करुणाले उनीहरुकाे हृदय
र बन्न सकेनाैँ हामी हिन्दु समान ?बा….!
हामी पनि उनीहरु जसरि
लेख्छाैँ धर्मकाे महलमा हिन्दु
उनीहरु जस्तै छ गाेत्र
हजाराैँ बर्षदेखि हिन्दु बगैचामा
फूलिराख्याछाैँ वरिपरि र
गाउन सक्छाैँ उनीहरु जसरि गायत्री मन्त्र ।
छातीमा सबैसबै देवी देउता सजाएकै छाैँ,
देउताहरुले गर्छन गर्दैनन् उनीहरुले जसरि शाेषण ?
मान्छन् कि मान्दैनन् कुन्नी अछुत वा कुजात ?बा….!
देउतालाई साेध्ने ईजाजत देउ मलाई,
कि मँ पत्ता लगाउन सकुँ
हामी फूल्न सक्छाै सक्दैनाैँ याे बगैँचामा ?
देउतालाई छुने अधिकार हुन्छ कि नाई ?
हामी उसैगरि सगसगै हिड्न चाहान्छाैँ,
जसरि निस्फिक्रि हिडिरहेछन्
याे पुरातात्विक हावा ।
खुसीकाे बुँद खसालेर जीवनपथमा डुल्न चाहान्छाैँ,
जसरि डुलिरहेछन् खुल्ला अाकासमा रंगिन चराहरु ।बा…!
कहिले सम्म ओढिबस्नु पर्छ,
याे अछुतकाे खास्टाे ?
सताब्दीपछि आइपुग्ने भुकम्पले पनि ढाल्न नसकेकाे
कहिले ढल्छ याे असमानताकाे संकिर्ण पर्खाल ?
यहाँ टेक्न हुने आगनहरु रहेछन्,
जाे हामी टेक्दैनाैँ,
छुन हुने देउताहरु रहेछन्
जाे हामी छुदैनाैँ,
यति सुन्दर देखिने संसार रहेछन्
जाे हामी हेर्दैनाैँ,
बाँच्न मिल्ने जिन्दगीहरु रहेछन्
जाे हामी बाँच्दैनाैँ ।
कहिले अस्ताउँछ बा,
याे हिन्दुत्वकाे साम्राज्य र
उभिन सक्छाैँ हामी
हिन्दु समान भएर ?बा…,
भनिदेउ मलाई
याे अछुत हिन्दुकाे ईतिहास
जसबाट मँ अर्काे स्वतन्त्र
हिन्दुत्व निर्माण गर्न सकुँ ।
Facebook Comments