समाजसेवी रायमाझीद्धारा पत्रकारलाई प्रेस ज्याकेट

उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर शाखाले लकडाउन (बन्दाबन्दी)को अवश्थामा अग्रभागमा खटिएका जिल्लाका ५० जना पत्रकारलाई स्वास्थ्य सामग्रीसहित प्रेस ज्याकेट उपलब्ध गराएको छ । बन्दाबन्दिमा समाचार संम्प्रेषण गर्न पत्रकारले असहज महशुस गर्न थालेपछि महासंघले जिल्लाका प्रतिष्ठित व्यक्ति समाजसेवी अम्बरबहादुर रायमाझीको सहयोगमा सामग्री उपलब्ध गराएको हो ।

संक्रमितको संख्या ह्वात्तै बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई कडाई गर्न थालेपछि पत्रकारलाई परिचयपत्र बोकेर रिर्पोटिङ्गमा निस्कन गार्हो हुँदै आएको थियो । सवारी साधन लिएर निस्कदा चौक–चौकमा प्रहरीले रोक्ने र परिचय पत्र देखाउँदा सामाजिक दुरीसमेत कायम नहुने भएपछि निरन्तर रिपोर्टिङ्गमा निस्किएका पत्रकारलाई दाताको खोजी गरी महासंघले प्रेस ज्याकेट र स्वास्थ्य सामग्री उपलब्ध गराएको अध्यक्ष भरत खड्काले जानकारी दिए ।

स्थानीय प्रशासनलेसमेत प्रेस ज्याकेट लगाएर फिल्डमा निस्कन आग्रह गरेपछि पत्रकार र प्रशासनको सहजताकालागि ज्याकेट उपलब्ध गराइएको अध्यक्ष खड्काको भनाई छ । उनले भने, ‘रिर्पोटिङ्गमा निस्कदा कतिपटक सुरक्षाकर्मीलाई परिचयपत्र देखाउनु त्यो पनि नजिकै आएर चेक गर्छन, को सुरक्षित रहेको छ थाहा हुँदैन त्यसैले टाढैबाट पहिचान खुल्ने ज्याकेट उपलब्ध गराएका हौ ।

सहयोगी दाता रायमाझी परिवारलाई धन्यवाद दिँदै अध्यक्ष खड्काले भने, ‘राज्यले नसम्झिएको बेला दाताले सम्झनु नै त्यो हाम्रा लागि ठुलो हो त्यसमा पनि सञ्चार उपयोगी सामग्री सहयोग भएको छ, यस प्रति आभारी छौ । अध्यक्ष खड्काकाअनुसार महासंघले प्रेस ज्याकेट, ज्वरो, आवश्यकता अनुसार टाउको दुखेको, पखाला लागेको औषधि, मास्क, सेनिटाइजर, ग्लब्स र केहि थान पिपिई सेटसमेत उपलब्ध गराइएको हो ।

रौतमाई गाउँपालिका ७ निवासी समाजसेवी रायामाझीले यसअघि विपन्न परिवारलाई राहत उपलब्ध गराउने गरी जिल्लाका ७ वटा स्थानीय तहलाई नगद २५ हजारका दरले कुल एक लाख ७५ हजार रुपैँया उपलब्ध गराएका थिए । नेपाल कम्युनिष्ट पार्टी १ नम्बर प्रदेश कमिटीका सदस्य तथा रौतामाई गाउँपालिका उदयपुरका प्रमुख सल्लाहकारसमेत रहेका रायमाझीले लकडाउनमा काठमाण्डौँ बस्दै आएका उदयपुरबासीलाई उदयपुर–काठमाण्डौँ सहजिकरण समितिमार्फत राहत उपलब्ध गराएका थिए ।

राजनीतिक जीवन सँगै सामाजिक अभियानमा जोडिएका रायमाझी रौता जनता क्याम्पस रौतामाई ७ मुर्कुचीका व्यवस्थापन समितिका अध्यक्ष हुन् । नेकपाका उदयपुर संघीय निर्वाचन क्षेत्रनम्बर २ का सहइन्र्चाजसमेत रहेका समाजसेवी रायमाझीले यसअघि पनि विपद्मा परेका परिवार र विपत्तिमा जिल्ला र विशेषगरी रौतामाई गाउँपालिका क्षेत्रमा सहयोग पुर्याउँदै आएका छन् ।

पत्रकार महासंघलाई सहयोग उपलब्ध गराउँदै उनले भने, ‘यतिबेला उदयपुर कोरोना भाईरसको उच्च जोखिममा छ, यो बेला उत्तेजित हुनुभन्दा पनि विवेकपूर्ण ढंगले काम गर्नु पर्ने भएकाले यस घडिमा तपाईहरुको महत्वपूर्ण भूमिका रहनेछ । जटिल परिस्थितिमा पत्रकारलाई निर्वादरुपले काम गर्ने वातावरण बनाउन आफुले पत्रकार महासंघमार्फत सानो सहयोग गरेको बताए । उनले भने, ‘कोरोना सबैको साथसहयोगबाट मात्र नियन्त्रणमा आउने भएकाले यो बेला धैर्यताकासाथ काम गर्नसमेत सबैलाई अपिल गर्दछु ।

Facebook Comments