उदयपुरका कोभिड १९ विरुद्ध क्रियासिल समितिका सम्पूर्ण सदस्यहरु ‘हतारो गर्ने अनि फुर्सदमा पछुताउने’ नेपाली टुक्कालाई सम्झाउने निर्णय गरेका छन् । औषधी उपचार गर्ने सामथ्र्यको मूल्याकंन नगरीकनै कोरोना भाइरस रोक्ने प्रभावशाली ठानिएको बन्दाबन्दीलाई वेवास्था गर्ने निर्णय गरेका छन् ।
जिल्ला समन्वय समिति उदयपुरको कार्यालयमा बसेको वैशाख २८ गतेको निर्णयले त्यस्तो आभास दिएको हो । सो समितिले ११ बुँदे निर्णयहरु पारित गरेका छन् । यसले आलाकाँचो प्रशासक र व्यवहारिक भन्दा राजनीतिक निर्णय गर्ने राजनीतिकर्मीहरुको क्षमता प्रदर्शन हुन पुगेको छ ।
सो बैठकको पारित गरेको एक नम्वर निर्णयमा कृषि तथा पशुजन्य, स्वास्थ्य सेवा, ढुवानी सेवा, विकास आयोजना, सार्वजनिक सेवा, औद्योगिक उत्पादन, राजमार्गको होटल तथा रेष्टुरेनट र व्यवस्थापकीय कार्यसँग सम्वन्भित कृयाकलापहरु…सामाजिक दुरी कायम गरी …नागरिकको आर्थिक तथा सामाजिक जीवनलाई सहज बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी दुई नम्वरमा नागरिकको दैनिकी जीवनलाई सामान्यकरण गर्न स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन कार्यालय उदयपुरले सहजिकरण गर्ने भनिएको छ । सबै कुरा खुल्लै छोडेपछि जिल्ला सिल र प्रभावित भुल्केमात्र सिल गर्नुको अर्थ के हुन्छ ?
निर्णय नम्वर ३ मा राष्ट्रिय गौरवको आयोजना, प्रदेशस्तरिय आयोजनालगायतका विकास निर्माणका कार्यलाई आवश्यक निर्माण सामग्री उपलव्ध गराउने निर्णय स्वागतयोग्य देखिन्छ । यस कार्यको लागि नदीजन्य ढुंगा, गीटी, बालुवा रोडा खुल्ला गर्ने निर्णय गरेका छन् ।
तर ६ नम्वरको पारित बुँदाले भने जटिलता निम्त्याउने देखिन्छ । स्थानीय पालिकाहरुले पास वितरण गर्ने वित्तिक्कै यसले संक्रमित व्यक्ति वा परिवार र त्यससँग सम्वन्धित परिवारहरुसँग कन्ट्याक्ट टे«सिङमा जटिल समस्या उत्पन्न गर्ने देखिन्छ ।
निर्णय नम्वर ४ मा उदयपुर जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेकोले कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रणको लागि पीसीआर प्रविधिद्धारा स्वाव नमूना परीक्षणको दायरा बढाउनको लागि नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
एकातिर उच्च जोखिम भन्ने अर्कोतर्फ कोभिड १९ विरुद्धको कदमहरुलाई फित्तलो बनाउने निर्णयले गर्दा उदयपुरका जनप्रतिनिधि, नेता तथा प्रशासकहरुले कतै आफ्नो खुट्टामा आफैं बन्चरो त हान्दै छैनन भन्ने प्रश्न उभिएको छ ।
अहिलेसम्म त्रियुगा नपा ३ को भुल्केको एउटा सानो टोलमा ३२ जना कोरोना संक्रमित भेटिएका छन भने तीमध्ये १४ जना उपचारपछि निको भएका छन् । आजको बैठकमा प्रदेश सभाका माननीयहरु, नगर तथा गाउँपालिकाका प्रमुखहरु, सिडिओलगायतका सुरक्षा प्रमुखहरु र विभिन्न राजनीतिक दलका नेताहरुसहित व्यापारी, निर्माण व्यवसायी र उद्योगीहरुको उपस्थिति रहेको थियो ।