मुख्यमन्त्री राईद्धारा कोरोना संक्रमित क्षेत्र भुल्केको अनुगमण

भुल्के । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाईरसबाट कोही पनि बिचलित हुनु नपर्ने बताएका छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित कोरोना संक्रमण स्थलको अनुगमण गर्दै उनले यस्तो बताएका हुन् ।

अनुगमणको क्रममा कोरोना विरुद्धको पहिलो कदममा संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परिक्षण गरिने बताए । मुख्यमन्त्री राईले कोरोना नियन्त्रणलाई लकडाउनको पूर्णपालना गरिदिन सबैलाई अनुरोध समेत गरेका छन् ।

मुख्यमन्त्रीसंगै अनुगमनमा आएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदयपुर सम्बेदनशील क्षेत्र परेकाले सुरक्षा व्यवस्था थप कडाइका लागि सुरक्षाकर्मी थप र स्रोत साधनको उपलब्धता गराउदै आएको बताए । त्यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुर देशकै सबैभन्दा बढि प्रभावित क्षेत्र भएकाले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा जनशक्ति कमी हुन नदिइने बताए ।

उनले जिल्ला अस्पताललाई कोरोना अस्पतालको रुपमा विकास गर्नेबारे समेत विशेष छलफल हुदै आएको बताए । त्यसको लागि कोरोना अस्पताल बनाउदा अन्य विरामीहरुले उपचारमा समस्या वा जोखिम आइपर्ने नपर्ने सोच विचार पु¥याएर निष्कर्षमा पुगिने समेत उनले बताए । मख्यमन्त्री तथा मन्त्रीहरुलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले भुल्के र समग्र जिल्लाको बस्तुस्थितिको बारेमा जानकारी गराएका थिए ।

भोजपुरको कोरोना अवस्थाको अवलोकन तथा अध्ययन पछि उदयपुरको भुल्के आइपुगेका मुख्यमन्त्री राईले शनिबारै उदयपुरको कटारी नगरपालिका १ बेलसोत स्थित बेलसोत प्रदेश क्वारेन्टाइनको अवलोकन गरेका थिए । उक्त क्वारेन्टाइनलाई सुविधा सम्पन्न आइसोलेशन सहितको अस्पतालको रुपमा विकास गर्न अध्यायनका लागि मुख्यमन्त्री राई गएका हुन् ।

Facebook Comments