त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीबाट नगरबासीमा अपिल…..

आदरणीय सम्पूर्ण त्रियुगा नगरबासीहरुमा हार्दिक अभिवादन ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को चपेटामा अहिले त्रियुगा नगरपालिका परेको यहाँहरु सबैलाई अबगत नै छ । यस विषम परिस्थितिमा हामी कोरोना भाईरसको लडाईमा छौं । नेपालमा देखा परेको कोरोना भाईरस (कोभिड १९ ) को संक्रमण मध्ये सबै भन्दा बढी उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा देखा परेको छ । यस परिस्थितिसँग लड्न तपाई हामी सबैको हातेमालो आवश्यक पर्ने भएकाले आम नगरबासी दाजु भाई दिदिबहिनीहरुमा कोरोना भाईरस (कोभिड १९) सँग लड्नका लागि एक जुटन हुन अपिल गर्दछु ।

त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा आएका १२ भारतीय मुस्लिम धर्म गुरु (जमाती) र एक जना नेपाली धर्म गुरु गरि १३ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित १३ जनाको प्रदेश १ को कोरोना अस्पताल बिराटनगरमा रहेको आईसोलेनसमा उपचार भई रहेको जानकारी गराउन चाहन्छु । संक्रमितसँगै रहेको अन्य ३ जनालाई पनि मोरङ टाँडीस्थित प्रदेश स्तरिय क्वारेन्टाइनमा राखिएको छ । संक्रमित भेटिएको स्थललाई स्थानीय प्रशासनले सिल गरिएको छ ।

त्यहाँबाट अनेत्र फैलन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाईएको छ । जोखिमको सम्भाबित स्थानहरुमा स्यानिटाइजेशनको काम भई रहेको छ र संक्रमितहरुको ट्राबेल हिस्ट्री र कन्ट्रयाक्ट ट्रेसिङका कामहरु भई रहेको छ साथै संक्रमित क्षेत्र र आसपासमा स्वाब परिक्षणका लागि नमूना लिने काम विशेषज्ञ टोलीबाट गरिएको अबगत गराउन चाहन्छु । यस सम्बेदनसिल घडीमा पनि नगरबासीहरुलाई हतास नहुन अनुरोध गर्दछु ।

सम्पूर्ण नगरबासीको जीवन रक्षाको लागि त्रियुगा नगरपालिका दृढ संकल्पको साथ अहोरात्र खटिएको व्यहोरा अबगत गराउन चाहान्छु । कोरोना भाइरस विरुद्धको लडाइमा महत्वपूर्ण मानिएको लक डाउनलाई पूर्ण रुपमा पालना गर्नु हुनेछ भन्ने आशा र विश्वास लिदै बिशेष आग्रह गर्दछु । कोरोना भाइरस फैलनबाट रोक्न यो नैं अहिलेसम्मको प्रभावकारी कदम भएको जानकारी गराउन चाहन्छु ।

कोरोना भाईरस (कोभिड १९ ) देखा परेको भुल्केस्थित मुस्लिम समुदायको ५३ घर परिवारको स्वाब परिक्षणका लागि नमूना संकलनको काम भई रहेको जानकारी गराउन चाहन्छु । पहिलो चरणमा त्यहाँका ५३ घरका घरमुलिको र प्रत्येक्ष सम्र्पकमा रहेकाहरुको प्रदेश १ का प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशालाले स्वाब परिक्षणका लागि नमूना संकलन गरि पठाएका र्छौ, त्यसको नजिता आउँन बाँकी रहेको अबगत गराउँन चाहन्छु ।

त्यसैगरी दोश्रो चरणमा त्रियुगा नगरपालिकाको अनुरोधमा (सिसिएमसि) केन्द्रिय कोभिड १९ ब्यवस्थापन कमिटी मार्फत जनसँख्या तथा स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरद्धारा स्वास्थ्य सामाग्री सहित आएको छाउनी अस्पतालको बिशेषज्ञ टोलीले आईतवार हिजो र आज सोमवार सम्म भुल्के क्षेत्रका ५३ घर मुस्लिम समुदायको सम्पूर्ण सदस्यको स्वाब लिने कार्य भई रहेको जानकारी गराउँन चाहन्छु ।

भूगोलको सिमानाले पनि छेक्दैन, कोरोना भाईरस (कोभिड १९ ) लाई । यसले धनी, गरिब कसैलाई पनि छोड्दैन, न यसले देश हेर्छ, न त समाज, न यसले जात हेर्छ न लिङ्ग , न त धर्म हेर्छ न त कुनै सम्प्रदाय यसले कुनै भेदभाव नगरीकनैं सबैलाई आफ्नो चपेटा लिन्छ । तसर्थ कुनै जाति, वर्ण, धर्म वा सम्प्रदाय प्रति द्वेषपूर्ण भाव नराखीकन मानव समुदायको भयानक शत्रुको रुपमा देखिएको कोभिड १९ विरुद्धको लडाईमा साथ दिन सम्पूर्ण नगरबासीलाई विशेष आग्रह गर्दछु ।

त्यसैले कोरोना भाईरस (कोभिड १९ ) ले कसैलाई पनि नछाड्ने भएकाले यसमा धर्म वा कुनै सम्प्रदाय जात बिशेषको नाममा भ्रम सिर्जना हुने वा द्धेषभाव हुने किसिमको कुनै पनि गतिबिधि नगर्न नगराउन हुन सम्पूर्ण नगरबासी दाजु भाई दिदि बहिनीहरुमा हार्दिक अपिल गर्दछु ।

कोरोना भाईरस ( कोभिड १९ ) बिरुद्धको लडाईमा शक्तिशाली राष्ट्रहरु पनि कोरोना भाइरस अथवा कोभिड १९ का कारणले आक्रान्त भएका छन् । हालसम्म यसको औषधी पत्ता नलागेको र यो रोगले विश्वमा आज सम्म १ लाख ६५ हजार भन्दा बढीको ज्यान गई सकेको छ । लक डाउनले अति विपन्न तथा असंगठित क्षेत्रमा कार्यरत मजदुर परिवारलाई दैनिक गुजारा चलाउनको लागि राहत प्रदान गर्न त्रियुगा नगरपालिकाले एक करोडको राहतकोष खडा गरी सम्भव भए सम्मको सेवा प्रदान गर्दै आएको छ ।

कोरोना विरुद्धको लडाईको अग्रिम मोर्चाका खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरु, राजनीतिक दल, जनप्रतिनिधिहरु, कर्मचारी, नागरिक समाज,टोल विकास संस्था लगायत विभिन्न व्यक्ति तथा संस्थाहरुको उच्च मूल्याकंन गर्दै लकडाउनको पालना गर्न कम्मर कस्नु भएका सबै नगरबासीमा अभिवादन प्रकट गर्न चाहान्छु ।

आफू पनि बचौं अरुलाई पनि बचाऔं । लकडाउन पालना गर्दै कोरोना भाइरसलाई हराऔ ।

बलदेव चौधरी
नगर प्रमुख
मिति २०७७÷०१÷०८

Facebook Comments