जलेर गम्भीर घाइतेलाई उपचार खर्च अभाव

उदयपुर ।  ट्याक्टरमा जलेर गम्भीर घाइते उदयपुरका एक चालकको खर्च अभावले उपचार गर्न समस्या परेको छ। बिगे्रको ट्याक्टर मर्मत गर्ने क्रममा सुनसरीको इनरुवास्थित एक ग्यारेजमा राति सुतेका बेला पेट्रोलको भाँडो घोप्टिएर लागेको आगोले जलेर गम्भीर घाइते रौतामाई गाउँपालिका ३ फार्सेका १८ वर्षीय हेमबहादुर पाठकको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो।

गत पुस १८ गते राति ट्याक्टर बनाउने ग्यारेजमै सुतेका बेला पेट्रोलमा लागेको आगोले पाठकको शरिरको ४५ प्रतिशत भाग जलेर घाउ भएको छ। तत्काल बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि कीर्तिपुर हस्पीटल रिफर गरिएका पाठकलाई भनेजस्तो पैसा खर्च गर्न नसककै कारण फिर्ता पठाएपछि सातादिनयता उदयपुर जिल्ला अस्पताल ल्याएर उपचार गराइदैछ। पाठकको अनुहार, पाखुरादेखि औंलासम्म दुवै हात र तिघ्रादेखि औंलैसम्म दुवै खुट्टा तथा पेटमासमेत आगोले पोलेको छ।

गत २८ गतेदेखि उदयपुर अस्पतालमा उपचाररत घाइते पाठकको अनुहारको घाउ भने निको हुँदै आएको भए पनि हात खुट्टा र शरिरको घाउ भने आवश्यक मेसिन उपकरणको अभावले निको हुन सकेको छैन। उनलाई सुविधासम्पन्न अस्पताल रिफर गर्नुुपर्ने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. जिवनारायण मण्डलले बताएका छन्। उनका अनुसार बिरामी अपेक्षाकृत निको हुँदै गए पनि पूर्णरुपमा निको पार्न बाहिरै लानुपर्ने हुन्छ। आगोका घाइतेको उपचार गर्न दक्ष चिकित्सक अस्पतालमा रहे पनि आवश्यक यन्त्र उपकरणको अभावले सुविधासम्पन्न अस्पतालमै लानुपर्ने मण्डलले बताए।

परिवारले खर्च अभावका कारण बाहिर उपचार गराउन सक्ने अवस्था नरहेको भन्दै बाध्यतावश जिल्ला अस्पतालमा उपचार गराउनुपरेको जनाएको छ । आर्थिक अवस्था कमजोर रहेको पाठक परिवार छोराको उपचारमा अहिलेसम्म ३/४ लाख रुपैयाँ सकिइसकेको र उपचारका लागि थप रकमको जोहो गर्न नसकेपछि कीर्तिपुर हस्पीटलले फिर्ता पठाएको बाबु पर्बतले बताए । उनले ट्याक्टर साहुले भर्खरै काममा लागेको भन्दै धेरै खर्च बेहोर्न नसक्ने भनेपछि आप्mनै पैसाले छोराको उपचार गराईरहेको र पैसा सकिएपछि जिल्ला अस्पताल ल्याएको बताए ।

ट्याक्टर साहु राजन बन्जराले एकसातादेखि मात्र पाठक आफूसँग काम गर्न आएको र आगो घटनामा बिमाको व्यवस्था नभएकाले धेरै खर्च बेहोर्न नसक्ने बताए । उनले काम थालेको ८ औं दिन नै घटना भएकाले बिमा कम्पनीले आगोका घाइते कामदारलाई क्षतिपूर्तिको व्यवस्था नभएको जवाफ पाएको बताए । उनले मानवताको नाताले पाठकको उपचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता भने जनाएका छन् ।

यसैबीच जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले घाइते पाठकलाई अस्पतालमै भेटेर सान्त्वना दिएका छन् । अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका परियारले पाठकको उपचारमा अस्पतालको स्रोतसाधनले सक्दो कुनै कमी हुन नदिने र नियमित निगरानी राख्न चिकित्सकहरुलाई निर्देशन दिए । छोराको उपचारमा सक्दो सहयोग गर्ने उनको परिवारलाई सान्त्वना दिँदै उनले व्यक्तिगत र संस्थागत चन्दा संकलन गरेर भए पनि छोराको उपचार गराउनुपर्ने सुझाव दिए ।

उदयपुर अस्पताललाई अग्निपीडित र हाडजोर्नी, मुटु, बाल, दाँत, नाक–कान–घाँटीलगायत सबैखाले बिरामीको उपचारथलो बनाउन स्तरोन्नति कार्य अघि बढाउने योजना रहेको परियारले बताएका छन् । जिल्लाकै अस्पतालमा सबैखाले उपचारको सेवा विस्तार गर्नेगरी ३ सय शैय्यामा स्तरोन्नति गर्न अस्पताल विकास समितिले संघीय सरकार र प्रदेश मन्त्रालयमा योजनासमेत पेश गरिसकेको परियारले बताएका छन् । समाचार नागरिक न्यूजबाट ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

भिडियोः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *