उदयपुरमा ‘वृत्ति परामर्श तथा रोजगार मेला’ हुने

उदयपुर  ।  स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित र रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले उदयपुरमा पहिले ‘वृत्ति परामर्श तथा रोजगार मेला’ हुने भएको छ । जेठ १७ गते सञ्चालन हुने मेलाको उद्घाटन संघीय श्रम, रोजगार सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्टले गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेको समेत उपस्थिति रहने आयोजकले जनाएको छ । नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ र पाँच लाख युवालाई रोजगारी गराउने नारालाई सहयोग पु¥याउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले बताए ।

कार्यक्रम त्रियुगा नगरपालिका गाईघाट, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर र प्रधानमन्त्री रोजगार कार्यक्रमको आयोजना र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, हेल्भेटास नेपाल, श्री त्रियुगा नमुना सीप माध्यमिक बिद्यालय, जिल्ला होटल व्यवसायी संघ उदयपुर र प्रदेश नम्बर १ को व्यवसायिक तालिम प्रदायक संस्थाको सहयोगमा हुन लागेको हो ।स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउने अभिप्रायले आयोजना गर्न लागिएको मेलामा २५ सय भन्दा बढीको संख्याले कार्यक्रमको अबलोकन गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागि युवाहरु मध्ये कम्तिमा दुई हजार युवाहरुले बृत्ति परामर्श सेवा प्राप्त गर्ने, एक सय ५० देखि दुई सय बेरोजगार युवाहरुले बिभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने, बिभिन्न उद्योग तथा ब्यवसायीहरुले उपलब्ध जनशक्तिबारे जानकारी पाउने, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसंग उपलव्ध बिभिन्न रोजगारीको अवसरबारे जानकारी पाउने साथै तालिम प्रदायक संस्थाबाट प्रदान गरिने सिपमुलक तालिम र अवसरको जानकारी पाउने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रम सदरमुकाम गाईघाट स्थित त्रियुगा नमुना माध्यमिक बिद्यालयको पाङ्गनमा हुने छ ।

भिडियोः–

https://www.youtube.com/watch?v=9Q1gvgAUrYE

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *