लिम्चुङबुङ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा सञ्चालन भएको सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव सम्पन्न भएको छ । पहिचानको लागि संस्कृति, विकासको लागि पर्यटन भन्ने मुल नाराका साथ बैशाख १ देखि सञ्चालन भएको महोत्सव बिहिबार सम्पन्न भएको हो । नयाँवर्षको आगमनसंगै गाउँपालिकाको वडा नम्बर– ३ दोबाटेडाँडा स्थित एभरेष्ट भ्यूटपमा सञ्चालन भएको थियो ।
पाँचदिनसम्म सञ्चालन भएको महोत्सवलाई २० औ हजुरको संख्याले अबलोकन गरेको गाउँपालिका प्रमुख मेजर राईले बताए । प्रमुख राईका अनुसार गाउँपालिकाबासी, छिमेकी गाउँपालिकाबासी र छिमेकी जिल्ला खोटाङ, सिराहा, सुनसरी, धनकुटा लगायतका स्थानीयहरुले समेत अबलोकन गरेका थिए । महोत्सवमा स्थानीय उत्पादन तथा जातीय परिकारका प्रदर्शनी, पहिचानमुलक सांस्कृतिक तथा खेलकुद प्रतियोगिता मुख्य आकर्षणको रुपमा रहेका थिए । सर्बसाधारणको ब्यापक सहभागिता रहेको महोत्सवमा राष्ट्रिय कलाकारहरुले थप रौनकता थपेका थिए ।
त्यसैगरि पर्यटन प्रबद्र्धनको निम्ति २ हजार २ सय ७५ मिटर उचाईमा रहेको जिल्लाको सबैभन्दा अग्लो दोबाटेडाँडामा महोत्सव सञ्चालन गरिएको एभरेष्ट भ्यूटप पर्यटन विकास समितिका अध्यक्ष ज्ञानबहादुर राईले बताए । अध्यक्ष राईका अनुसार महोत्सव स्थलबाट पूर्वको पशुपतिको रुपमा परिचित खोटाङको हलेसी, तलतिर सुनकोशी र सर्बोच्च शिखर सगरमाथासहित आठ वटा हिमालहरुको मनोरम दृष्यवलोकन गर्न सकिन्छ । महोत्सव लिम्चुङबुङ गाउँपालिकाको सहयोग तथा एभरेष्ट भ्यूटप पर्यटन विकास समितिको आयोजनामा सम्पन्न भएको थियो ।