आठ हिमाल अवलोकनसहित लिम्चुङबुङ महोत्सव सुरु

उदयपुर । पहिचानको लागि संस्कृति, विकासको लागि पर्यटन भन्ने नाराका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव आइतवारदेखि सुरु भएको छ । पारिपट्टी पूर्वको प्रख्यात हलेसीथान, तलतिर सुनकोशी र सर्बोच्च शिखर सगरमाथासहित आठ वटा हिमालहरुको मनोरम दृष्यवलोकन गर्न किने स्थानमा लिम्चुङबुङ गाउँपालिकाको सहयोग तथा एभरेष्ट भ्यूटप पर्यटन विकास समितिको आयोजनामा महोत्सव भएको हो ।

नयाँवर्षको अवसरसंगै पालिकाको वडा नं. ३ एभरेष्ट भ्यूटप (दोबाटेडाँडा) मा पाँचदिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन तथा जातीय परिकारका प्रदर्शनी, पहिचानमुलक सांस्कृतिक तथा खेलकुद प्रतियोगिता आकर्षण रहेका छन् । पालिकाको समृद्धिका लागि कषि, उद्यम, शिक्षा, स्वस्थ्यसंगै पर्यटनलाई विशेष महत्व दिएको पालिकामा पहिलोपटक पटक भएको महोत्सवको उद्घाटन प्रदेश सांसद नारायाण बुर्जामगर र पालिका प्रमुख मेजर राईले गरेका थिए ।

स्थानीय सर्बसाधारणको ब्यापक सहभागिता रहेको महोत्सवको पहिलो दिनलाई लोकप्रिय गायकहरु रुपकुमार राई, फूल कुमार बम्जन, शिव थापा मगर लगायतको प्रस्तुतीले रौनकता थपेको छ । आयोजक समितिका अध्यक्ष ज्ञानबहादुर राईका अनुसार महोत्सव अवधीभर ख्यातीप्राप्त कलाकार तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुतीसंगै स्थानीय सरकारको समृद्धिका गतिविधि तथा स्थानीय स्रोत साधन, लिम्चुङबुङ झरना जस्ता पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुनेछ ।

जिल्लाको सबैभन्दा अग्लो स्थान २ हजार २ सय ७५ मिटर उचाईमा भएको महोत्सवले सिंगो पालिकाको विकास र समृद्धिमा टेवा पर्याउने पालिका अध्यक्ष मेजर राईले बताए । कार्यक्रममा रौतामाई गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर खड्का लगायत विभिन्न पार्टीका नेता, संघसंस्थाका प्रतिनिधि, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *