उदयपुरमा बाँदर आतंक : नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

उदयपुर । उदयपुरमा बाँदर आतंक मचिएको छ । केही दिनदेखि त्रियुगा नगरपालिका १५ खाँबु, डहर, कुभिण्डे आसपासका क्षेत्रका सर्वसाधरणको घर, खेतबारीमा प्रवेश गरी अन्नपात खानुको साथै महिला तथा बालबालिकालाई आक्रमण गर्न थालेका छन् ।
मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्रियुगा नगरपालिका १५ का वडाध्यक्ष निरबहादुर मगर सहितको टोलीले अन्नबाली, फलफुल र तरकारीबाली संरक्षणको माग गरेका छन् ।

उनीहरुले बाँदरलाई अन्यत्र धपाउने प्रभावकारी बिधि खोजीदिन प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् । खेतबारीमा लगाइएको धान, कोदो, मकै, गहुँ, आलु लगायतका अन्नबाली बाँदरले खाइदिने र नष्ट बनाइदिने महिला तथा बालबालिकालाई चिथोर्न थालेको भन्दै स्थानीयहरुले बाँदर आतंक नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय उदयपुरलाई अनुरोध गरेका हुन ।

‘एक्लै हिड्न हुन्न झम्टिहाल्छ । बारीमा लगाएको खेती त नष्ट गर्यो, घरमा राखेको अन्न पनि लिएर जान्छ,’ वडा अध्यक्ष मगरले नागरिक बहससँग भने । भान्छामा पकाएर राखेको भात समेत खाइदिने गरेकाले दिउँसै ढोका थुनेर बस्नु परेको उनले सुनाए । महिला बालबालिकालाई आक्रमण नै गर्न थालेपछि प्रशासनको ध्यानाकर्षणका लागि डेलिकेसन लिएर आएको वडाa अध्यक्ष मगरले बताए ।

जंगली जनावरलाई मार्दा कानुन लाग्ने भएकाले अन्य कुनै उपायबाट नियन्त्रण लिनका लागि प्रशासनलाई अनुरोध गरिएको उनको भनाई छ ।’ अन्नपात मात्र खाँदा त सहेकै थियौं, वडाध्यक्ष मगरले भने, ‘धपाउन गएका महिला तथा बालबालिकामाथि नै आक्रमण गर्न थालेपछि आतंक नियन्त्रणको माग गरेका हौं ।’

‘बादरहरु घरघरै आएर दुःख दिनुका साथै मानिस माथि आक्रमण गर्न थालेको सिद्धवती माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण भट्टाराईले बताए । ‘केही दिनदेखि बाँदरको आक्रमणबाट आधा दर्जन भन्दा बढी घाइते हुने गरी पिट्यो’ उनले भने, ‘टाउको र अनुहारमा मात्र आक्रमण गर्दाे रहेछ । पुरुष भन्दा बढी महिला र केटाकेटीलाई आक्रमण गरेको गरेको छ । बाँदर आतंक बढेपछि विद्यार्थीहरु बिद्यालय आउन डराउने गरेका छन् ।’

बाँदरले हिँडै्दै गरेका र घरमा बसेका महिला तथा बालबालिकालाई चिथोर्ने, टोक्नेसमेत गर्ने गरेको छ । काम सकेर आरामले खाना खाउँला भनेर पकाएर राखेको खानासमेत खान नपाएपछि सर्वसाधरण निकै चिन्तित भएको स्थानीय कुलबहादुर खत्रीले बताए । उनले भने, ‘बिहान मेलापात जानुअघि खाना पकाएर जानुपर्छ, आउँदा बाँदरले खाइसकेको हुन्छ ।’

बाँदरबाट आजित भएपछि स्थानीयले वडासदस्य कुलबहादुर खत्रीको नेतृत्वमा १२ सदस्य बाँदर आतंकविरुद्धको संर्घष समिति नै गठन गरी नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र उपाय खोज्नेसमेत निर्णय गरेका छन् । स्थानीय ५५ घरपरिवारले संयुक्त रुपमा हस्ताक्षर गरी दिएको निवेदनमा बाँदर नियन्त्रण, वैकल्पिक बसोबासको व्यवस्थापन, क्षतिपूर्ति उपलब्ध गराइ दिन समेत माग गरिएको छ ।

स्थानीयको निवेदन बुझ्दै प्रजिअ कार्कीले नियन्त्रणका लागि सम्बन्धित निकाय डिभिजन वन कार्यालयलाई परिपत्र गरिने बताए । उनले भने, ‘नियन्त्रणका लागि प्रशासनले गर्नसक्ने अवस्था छैन्, त्यसैले जंगली जनावर भएकाले वन कार्यालयले यसको उचित रेखदेख गर्नुपर्छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *