उदयपुरमा पहिलो फुड फेस्टिवल महोत्सव सुरु

उदयपुर । उदयपुरमा पहिलोपटक फुड फेस्टिवल (खानाको परिकार) मेला आईतबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ । जिल्ला होटल व्यवसायी संघ र झीगु नेवाः पुचः उदयपुरको संयुक्त आयोजनामा भएको मेलाको प्रदेशनं १ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिसप्रसाद कुसियतले गरे । पुस १० गतेसम्म सञ्चालन हुने मेलामा जिल्लाका विभिन्न जातजातीका स्थानीय परिकार प्रर्दशनी, विक्रीवितरण र नेवार समुदायको प्रदेशनं १ स्तरीय लाखे नाच प्रतियोगिता रहको छ ।

मेलाको उद्घाटन गर्दै मन्त्री कुसियतले नेपाली खाना संसारकै उत्कृष्ट रहेको बताएका छन् । मन्त्री कुसियैतले नेपाली खानालाई विश्वबजारमा अझै शसक्तरुपमा लैजानु यस्ता मेला महोत्सवले सहयोग पुग्ने बताउँदै प्रदेशकै पहिलो नमुना मेला भएकाले प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘पर्यटन भित्र्याउने एउटा मुख्य आधार खानाका परिकार पनि हुन,’ उनले भने, ‘विदेशीहरु नेपालमा खानको स्वाद लिन पनि आउने गरेकाछन् ।’

देशविदेशको उदाहरण दिँदै मन्त्री कुयिसतले भने ‘एउटा नेपालीले विदेशका जुनसुकै कुनाकाप्चामा गएर पनि होटल तथा रेष्टुरेण्ट सञ्चालनगर्दा नचलेका काँहीका छैनन, त्यसलेपनि नेपालको परिकार कति स्वादिष्ट र उत्कृष्ट छ भन्ने जनाउँछ ।’ उनले विविधताले भरिएको प्रदेशनं १ लाई मुलुकको नमुना प्रदेश बनाउन साँस्कृतिक सम्पदाहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले आफुसँग स्रोतसाधन भएर पनि त्यसको उचित व्यवस्थापन र क्षमता नपुग्दा नेपालीहरु अझैपनि पुरानै रितिरिवाज र संस्कारबाट खानाका परिकारहरु बनाउन बाध्य भएको बताउँदै मेलाले खानाको परिकार बनाउनन पनि सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

‘खासगरी खानाको परिकार मेलाको उदेश्य भनेकै स्थानीय र संस्कृति झल्कने परिकार हो,’ उनले भने, ‘परिकार बनाउँदा आफ्ना पहिचान झल्कने गरी नयाँपन दिन सकियो भने त्यसको महत्व रहन्छ ।’ मन्त्री कुसियतले स्थानीय जातविशेषअनुसार खानाको परिकारलाई प्रर्दशनीमा राखेर विक्री गर्न सक्यो भने मात्र त्यो समुदायको उत्थान र पहिचान झल्कने भएकाले संस्कृति संरक्षणको पनि माध्यम मेला भएको बताए ।

मेलाको उद्घाटनशत्रमा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा, सुनिता चौधरी, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी लगायतले बोलेका थिए । मेलाले निम्न आयस्तर भएकालाई आत्मनिर्भर र होमस्टे सञ्चालनका लागि मद्धत पुग्ने विश्वास लिइएकोछ । मेलामा जिल्लाको पहिचान झल्कने गरी विशेषगरी मकैको खाना, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, भुटेको मकै, खिर, सेलरोटी, फापरको परिकार, नेवार सुमदायको यमरी, दनुवारको अन्डी, थारुको घुगी जस्ता परिकारहरु प्रमुख आकर्षक रहने जिल्ला होटल व्यवसायी संघका सचिब शिव अधिकारीले जानकारी दिए । उनले वाह्य पर्यटक भित्र्याउन, आन्तरिक पर्यटन प्रर्वद्धन गर्न र आर्थिक कम भएका व्यवसायीलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको बताए ।


करिव ५० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्यकासाथ आयोजना गरिएको मेलामा स्थानीय परिकारको विक्री वितरण, जिल्लाकै पर्यटकिय तथा धार्मिक क्षेत्र रौतामाईको दर्शन, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको कला प्रस्तुति रहने झिगुः नेवाः पुचका सचिब गोपाल श्रेष्ठले बताए । त्यस्तै विभिन्न जातजातीका भेषभुषा तथा झाँकी, लोक सँस्कृति, हस्तकला सामग्री, छमछमी सिजन २ जस्ता कार्यक्रम राखिएको उनले बताए ।

१० दिनसम्म लाग्ने मेलाको पहिलो १ देखि ५ गतेसम्म होटल व्यवसायी संघ र त्यसपछिको १० गतेसम्म झिगुः नेवाः पुचले आयोजना गर्ने श्रेष्ठले बताए । लामा ४७ लाख ८० हजार रुपिँया खर्च हुने अनुमान गरिएको मुल समारोह समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।
जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रहरुको प्रर्वद्धन गर्ने उदेश्यकासाथ मेलाको आयोजना गरिएको जनाइएको छ । त्यसैगरी विभिन्न जातजाती समुदायकाको व्यवसायको प्रर्वद्धन, प्रतिस्पर्धा, गुणस्तरीयता, उद्यमी व्यवसायलाई प्रोत्साहन र नयाँ परिकारको सृजना गर्ने मेलाबाट लक्ष्य लिइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *