प्रदेश मन्त्रीद्धारा उदयपुर अस्पतालमा छड्के अनुगमन, स्वास्थ्यमा खेलवाड गर्नेमाथी कडा कारबाहीको चेतावनी (भिडियो सहित)

उदयपुर ।  प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनस्वास्थ्यजस्तो गम्भीर विषयमा खेलवाड गर्ने जुनसुकै तह वा तप्काका स्वास्थ्यकर्मी र कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पतालको शुक्रवार छड्के अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री घिमिरेले स्वास्थ्य र शिक्षा क्षेत्रमा खेलवाड गर्नेमाथि निर्मत तरिकाले तत्काल कारबाही गर्ने चेतावनी दिएका हुन् ।

जिल्लाको त्रियुगा गनरपालिकाको अनुगमनपछि सो अस्पतालको छड्के अनुगमनमा पुगेका मन्त्री घिमिरेले अस्पतालको भौतिक अवस्था राम्रो देखिए पनि सेवाको स्थिति दयनीय भएको पाएको भन्दै तत्काल यसलाई पूर्ण क्षमताका साथ सेवा सुचारु गर्ने प्रयासमा लाग्ने प्रतिबद्धता जनाए । मन्त्री घिमिरले सबै डाक्टरहरु अस्पताल समयमा विरामीको उपचारमा खट्नुपर्ने भन्दै कार्यालय समयमा अस्पताल छाडेर नीजि मेडिकलमा खटेको पाइए तत्काल कानुनी कारबाही गर्ने चेतावनी दिए । घिमिरेले अस्पतालको आकस्मिक कक्ष, वहिरङ विभाग, ल्याबोरेटरी र औषधि वितरण कक्षको अनुगमन गरेका थिए ।

उनले डाक्टर र कर्मचारीकक्षको पनि अनुगमन गर्दै अस्पतालको स्थितिको विषयमा अस्पतालका डाक्टर र कर्मचारीबारे जानकारी लिएका थिए । अस्पतालको निरीक्षणपछि उनले जिल्ला जनस्वास्थ्य कार्यायलको समेत अनुगमन गरे । अनुगमनपछि उनले जनस्वास्थ्य अधिकृत सागर प्रसाईले गरेको जिल्लाको स्वास्थ्यसम्बन्धी ‘ब्रिफिङ’ सुनेका थिए । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र प्रमु्ख प्रशासकीय अधिकृत तारानाथ लुईटेलका साथ अस्पताल पुगेका उनले विगत ६ महिनादेखि अस्पतालबाट विरामीले सेवा पाउन नसकेको विषयमा उठेका जिज्ञासाबारे चासो राखेका थिए ।

सो अवसरमा जम्मा भएका स्थानीयले अस्पताल जनमैत्री नभएको, डाक्टरहरुको दरबन्दी खाली रहेको र भएका डाक्टरहरुबाट पनि विरामीले भनेजसतो सेवा नपाएको गुनासो गरेका थिए । जवाफमा मन्त्री घिमिरेले अस्पतालको सुधारका लागि सबै मिलेर प्रयास गर्नुपर्ने बताउँदै संघीय मन्त्रालयसँग समन्वय गरी रिक्त दरबन्दी पूर्ति गर्ने आश्वासन दिएका थिए । मन्त्री घिमिरेले जिल्लाको एकमात्र स्नातकोत्तर क्याम्पस त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको पनि शुक्रबारै निरीक्षण भ्रमण गरेका छन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *