भोटराज राई
भन्न त कसैले, कसैलाई नचिढ्याउनु भन्छन् । अनावश्यक नचिढ्याउ भन्ने मान्याता पनि हो तर, यसपाली महोत्सव आयोजकदेखि प्रहरी, प्रशासन, मिल्ने साथीभाइसम्मलाई चिढ्याईयो की ? भन्ने लाग्छ । एकखाले विवेकहरुले हाम्रो कामको मूल्यांकन सहि भनेका छन् । एकखाले मनहरुले भने पैसा नपाएर समाचार लेख्यो भन्दै हिडेका पनि छन् । जसले जे भनेपनि, जसले जे गरेपनि त्यसको पछि लागिहिड्ने समय त कहाँ छ र ? जाबो यो महोत्सवले दिने पैसा पनि कत्ति नै होला र ? पैसा नपाएर… भन्नेहरुको कुरा सुन्दा हाँसो उठेर आउछ । कत्ति न महोत्सवको पैसाले चलेको पत्रकारिता जस्तो !
हामी महोत्सवको विरोधी पक्कै हैनौं, तर बुझिदिनेले त्यस्तै बुझिदिएका छन् । प्रचारबाजी गर्नेले यसैलाई प्रमुख बनाएका छन् । हामीले समाचारमा के लेख्यौ भन्ने कुराहरु साविक छदैछन्, इतिहाससम्मको लागि अभिलेखमा रहनेछन्, शिर्षकमात्र नपढेर राम्ररी अध्ययन गर्ने हो भने हामीले देखाउन खोजेका कुराहरु प्रष्ट छन् । जस्तो कि, महोत्सव सबैको हुन सकेन । समयको ख्याल नगर्दा, आवश्यक छलफल, सल्लाह, सुझाव र समन्वय नगर्दा विद्यार्थीलाई असर, सिस्टम, निती नियमको खिल्ली, उद्देश्य अधुरो र अपुरो भो भन्ने न छ । महोत्सव नै बन्द गर त भनिएको छैन ।
जहाँसम्म महोत्सवमा प्रतिबन्धित केही स्टल, खेल र राती अबेरसम्मको धमकेदार नाचगान नगराए त महोत्सव पुरै घाटामा गईहाल्छ नी भन्ने सवाल छ, त्यसमा भन्ने कुरा यहि हो कि, आखिर यसअघि वर्षेनी लगाएको महोत्सवमा नाफा कमाएर खै के भयो ? खै के गर्यो ? बरु, एकपटक नाफा, घाटा जे पर्छ सहेर सिस्टममा जानु, जसले आगामी दिनलाई सही पाठ मिल्नेछ । यो हाम्रो मान्यता कायम छ र रहिरहन्छ । तर यहाँ त, आयोजक भन्दा पनि अरुअरु नै पो डेटो कसेर लागी परेका छन्, मरिमेटेका छन्, ए बा… बा… !
संस्था नविकरण र लाखौं हिनामिनाको प्रश्नको चित्त बुभ्mदो जवाफ दिनुपर्ने आयोजकले यसपटकको महोत्सवको हरहिसाव, आयव्याय पारदर्शी ढंगले प्रशासनले भने बमोजिम एकहप्ताभित्रै दिनुपर्छ । किनकी महोत्सव हाम्रो पनि हो । उद्योग वाणिज्य संघ, सबैं व्यापारीको हो । हाम्रो पनि हो । खबरदारीको दायित्व हामीमा पनि छ । यतिबेला महोत्सव रातभरी नाचगानको भरमा चलेको छ, बल्लतल्ल हिजोदेखि हेलिकेप्टर उडायो । महोत्सव भनेको के त्यति नै हो त ? दिनभरी उद्यमी, व्यापारीहरु धुलो खाँदै छटपटिएर बस्न बाध्य छन् । अन्य सिर्जनसिल क्रियाकलाप सुन्य छ ।
नाचगान र मोजमस्तीलाई नै महोत्सव भनेर स्थानीयलाई भुल्याउने आयोजकले स्थानीय स्रोत, साधन, उत्पादन, उद्यमी, कलाकारलाई वेवास्ता गर्नु, बाल उद्यानको नाममा विभिन्न खेल, तमासा देखाएर स्थानीयसंग लुटेको पैसा भारत पठाउने एजेन्टको काम गर्नुलाई प्रशंसा गर्नेहरुले हाम्रा खबरदारीलाई कहिले नाचगान, कहिले हेलिकेप्टर चढेको तस्बिर फेसबुकमा राखेर खिल्ली उडाउने काम पनि गरिरहेको हामी प्रष्ट बुझ्दछौ । फोटो राख्नेजति सबैको नियत त्यस्तो होइन भन्ने पनि प्रष्ट छौं ।
सबै सामाग्री लेखकको फेसबुकबाट साभार