उदयपुर । जिल्ला फुटबल संघ उदयपुरको अध्यक्षमा रञ्जन कार्की विजयी भएका छन् । अध्यक्ष पदका लागि सोमबार सम्पन्न निर्बाचनबाट कार्की विजयी भएका हुन् । १३ मतदाता मध्ये ८ मत प्राप्त गरी कार्की विजयी भएका हुन् । प्रतिष्पर्धी रमाकान्त चौधरीले ४ मत प्राप्त गरेका थिए भने १ जनाको नोभोट भएको थियो ।
अध्यक्षबाहेकका पदहरु भने निर्बिरोध भएको थियो । तीनजना उपाध्यक्षहरुमा ध्रुवकुमार बस्नेत, नविनकुमार राई, सारा राई रहेका छन् । सदस्यहरुमा आनन्ददेव चौधरी, ज्ञानेन्द्र वान्तवा, किरण राई, रोशन रााई, राजकुमार थापा (क्षेत्री), कैलास राई, अम्बिकाप्रसाद धमला, उदय राई, दिलिप चौधरी रहेको निर्वाचन मण्डलका सदस्य गजेन्द्र राईले बताए । सदस्य राईका अनुसार पछि अन्य १ जनालाई मनोनित गरिनेछ ।
त्यसैगरी आगामी चैत्र १४ गते हुन गईरहेको अखिल नेपाल फुटबल संघको केन्द्रिय अधिवेशनका लागि मतदान अधिकारसहितको प्रतिनिधिमा किरण राईलाई सर्बसहमत चयन गरिएको छ । निर्बाचन अधिकृत गोपाल श्रेष्ठले विजयी उम्मेदवार र निर्बिरोध पदाधिकारीहरुको नाम सुनाई घोषणा गर्नुभएको थियो । अखिल नेपाल फुटबल संघका केन्द्रिय सहायक महासचिव किरण राईको प्रमुख आतिथ्य, केन्द्रिय सदस्य देबेन्द्रमान सिंहको विशेष आतिथ्यमा भएको अधिवेशनमा जिल्लाभरीका विभिन्न फुटबल क्लवका प्रतिनिधिहरुको सहभागिता थियो ।