गुण्डा नाइकेसँग एक करोडको लेनदेनले लियो ‘सहिद’ शरद गौचनको ज्यान

काठमाडौँ । गुण्डानाइके समिरमान सिंह बस्नेतसँग एक करोड रुपैयाँको लेनदेन नमिल्दा सरकारले सहिद घोषणा गरेका निर्माण व्यवसायी शरद कुमार गौचनको ज्यान गएको गएको तथ्य खुलेको छ । घटनाका मुख्य योजनाकार मानिएका समिरमान सिंह बस्न्यातलाई प्रहरीले पक्राउ गरेपछि यो तथ्य खुल्न आएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गौचनले आफूले सञ्चालन गर्दै आएको डाँफे कन्सट्रक्सनको सेयर दिने भनेर गजुरमुखी कन्सट्रक्सनका मुख्य लगानीकर्ता रहेका कुमार श्रेष्ठ (घैँटे) मार्फत दुई करोड पचास लिएका थिए । उक्त रकममध्ये एक करोड आफ्नो भएको दाबी गर्दै घैँटेको मृत्युपछि उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्सट्रक्सनको सेयर वा रकम फिर्ता गर्न बस्न्यातले गौचनसँग पटक–पटक माग गरेका थिए ।

त्यसमाथि वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन बापतको २ प्रतिशत रकम माग गर्दा पनि गौचनले त्यसलाई वेवास्ता गरेपछि विवाद चरम उत्कर्षमा पुगेको थियो । त्यसैको बदला लिन वस्न्यातको योजनामा असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।

प्रहरीले घटनामा संलग्न ७ जनालाई यसअघि नै पक्राउ गरे पनि मुख्य योजनाकार भनिएका वस्न्यातसहित ८ जना फरार रहेका थिए । वस्न्यात भारतमा लुकेर वस्दै आएकोमा केही दिन अघि नेपाल प्रवेश गरेको विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान व्युरोका डिआइजी पुष्कर कार्कीले खटाएको टोलीले गत मंगिर १६ गते चितवनको नारायणघाटबाट पक्राउ गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *