उदयपुर । उदयपुरको कटारीमा क्षेत्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता २०७४ का लागि तेक्वान्दो खेलमा सहभागिता जनाउन पूर्वाञ्चल स्तरीय छनौट प्रतियोगिता कटारीमा शुक्रबारबाट सुरु भएको हो । शनिबार सम्पन्न हुने प्रतियोतिामा पूर्वाञ्चलका १६ जिल्लाका तेक्वान्दो खेलाडीहरुले प्रतिष्पर्धा गरिरहेको प्रतियोगिता मूल आयोजक समितिका संयोजक घनश्याम बुर्जा मगरले बताए । प्रतिष्पर्धाबाट २४ खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि छनौट हुनेछन् ।
कटारीको खेल मैदानमा प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ काजीले विकास निर्माणमा जस्तै खेलकुदमा पनि नगरपालिकाले विभिन्न कार्यक्रहरु गरी खेलकुदको विकासमा काम गर्ने बताए । ‘खेलकुदको विकास पनि अन्य विकास जस्तै महत्वका रुपमा नगरपालिकाले हेरेको छ ।’ उनले भने । कटारीका विभिन्न संघ, संस्था , व्यापारी लगायतका सरोकारवालाहरुको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।