माओवादीको दोहोरो चरित्र देखियोः डा. खडका

गजेन्द्र राई
उदयपुर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. नारायण खडकाले सरकारमै बसेर नेकपा एमालेसँग अपवित्र गठबन्धन गर्ने माओवादी केन्द्रको दोहोरो चरित्र उदाङ्गो भएको बताएका छन् । प्रेस युनियन उदयपुरको आयोजनामा सोमवार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खडकाले सो कुरा बताएको हो ।

नेता खडकाले काँग्रेसको सहकार्यमा बनेको प्रचण्ड नेतृत्वको सरकारले दुई वटा निर्वाचन गरिसकेको अवस्थामा एक्कासी एमाले सँग गठबन्धन गरेर आफ्नो चरित्र उदाङ्गो परेको समेत बताएका छन् । “राजनितिक संस्कार निर्माणका लागि केहि नैतिक कुराहरुलाई अवलम्बन गर्नुपर्ने हुन्छ” नेता खड्काले भने “त्यो राजनैतिक नैतिकता प्रचण्डले गुमाई सकेको छ” । अहिलेको मुख्य चुनौती भनेको प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु रहेको उनको भनाई थियो । उनले निर्वाचनको वातावरण निर्माण गर्न माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने समेत बताए ।

वर्तमान राजनितिक अवस्थाको बारे बताउँदै नेता डा. खडकाले अहिले वैदेशिक निति समेत प्रभावित हुने खतर रहेको बताए । उनले माओवादी केन्द्र र एमालेको गतिबिधिले छमेकी मुलुकहरुलाई समेत सन्तुलनमा राख्न नससक्ने अबस्था रहेको बताए । कार्यक्रमभर माओवादी र एमालेको आलोचना गरेको खड्काले एकलाई चिढ्याएर अर्कोलाई काँध हाल्ने कार्य माओवादी र एमालेकोे तर्फबाट भईरहेको समेत आरोप लगाएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *