निर्माण व्यवसायी महासंघ अध्यक्षको नयाँ वानेश्वरमा गोली हानी हत्या

काठमाडौं – देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिन दहाडै काठमाडौंमा हत्या भएको छ। सोमबार दिउँसो नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको हो। तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

अस्पतालका चिकित्सक डा.विमल थापाकाअनुसार गौचनको शरीरमा तीन वटा गोली लागेका छन्। ‘एउटा गोली मुटुमा लागेको छ। एउटा कलेजोमा र अर्को मुटु कलेजकोबीचमा लागेको छ’, उनले नागरिकन्युजसँग भने, ‘अस्पताल ल्याइपुर्‍याउँदै उनको मृत्यु भइसकेको थियो। सार्पसुटरले प्रहार गरेको जस्तो देखिन्छ।’

पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए।

मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए। प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ। कसले र किन गोली हानेको भन्ने विषयमा प्रहरी निष्कर्षमा पुग्न सकेको छैन। ठेक्कापट्टालाई लिएर हुने लेनदेनको विषयमा गोली प्रहार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *