



उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर सात खानिटारमा जडिवुटी भण्डारण केन्द्रका लागि घर निर्माणसँगै तीन गाउँपालिकाका किसानलाई सहज भएको छ । कहिले वजार मुल्यको गिरावट त कहिले व्यापारीको अभावमा सस्तो मुल्यमा जडिवुटी विक्री गर्दै आएका रौतामाई, सुनकोसी र उदयपुरगढी गाउँपालिकाका किसानलाई जडिवुटी तथा तेजपत्ता भण्डारण घर निर्माणले राहत मिलेको हो ।
भण्डार केन्द्रको अभावमा बजारमा चलेको मुल्यमा उत्पादित बस्तु किसानले विक्री गर्न नपाएको गुनासो बढेपछि किसानलाई लक्षित गरी जिल्ला वन कार्यालय उदयपुरको अगुवाईमा विभिन्न निकायको १६ लाख रुपिँयाको लागत सहयोगमा भण्डार घर निर्माण गरिएको हो । भण्डार केन्द्र निर्माणले पहाडबाट उत्पादन गरी विक्रीका लागि ल्याइएका जडिवुटी तथा तेजपत्ताहरु विक्री नभए भण्डार केन्द्रमा राखि राम्रो मुल्य पाएपछि विक्री गर्न सहज हुने जिल्ला वन कार्यालयका प्रमुख बिष्णुप्रसाद भण्डारीले बताए ।
उनले भने, ‘किसानले विक्रीका लागि दुःख गरी ल्याएका बस्तुहरु मुल्य नपाउँदा घर फर्काउन गार्हो भएपछि व्यापारीलाई सस्तोमा विक्री गर्नु पर्ने समस्या देखिएकाले यस्तो व्यवस्ता गरिएको हो ।’ त्यसअघि उनले थपे, ‘अब किसानलाई केहि समस्या छैन र व्यापारिले वार्गेनिङ पनि गर्न सक्दैन, उचित मुल्य पाए वेच्छ, नत्र मुल्य नपाएसम्म भण्डारण केन्द्रमा राख्छ ।’ वजार मुल्यको अभावमा कतिपय अबश्थामा नुनसँग तेजपत्ता साटनु परेको तेजपत्ता उत्पादक रौतामाई ८ का टेकबहादुर मगर बताउँछन् । उनी भन्छन्, ‘बजार मुल्य छ भनेर ल्यायो, बजारमा ल्याउँदा अधिकांस समय व्यापारीले मुल्य छैन, त कहिले वन्दहडतालले व्यापारी आएका छैनन् भन्दै सस्तो मुल्यमा किनबेच गर्न खोज्छन् ।’
२ दिनसम्म पिढ्युमा बोकेर पैदलयात्रा गरी ल्याएका सामग्री कहिलेकाहीँ त बोकेको ज्यालासमेत नआई नुनसँग साटनु परेको किसानको गुनासो छ । केहि ठाउँमा ५÷६ घण्टा यातायातका साधनलाई बोकाएर ल्याएका सामानहरु ढुवानीसमेत नउठेपछि त्यसै छाडेर हिड्नु परेको उनीहरुको गुनासो छ । जिल्लाको उत्तरपश्चिमी क्षेत्रका यी गाउँपालिकामा तेजपत्ता, ओखर, चिराईतो लगायतका जडिवुटी पाईने गर्दछ । यहाँ उत्पादित अधिकांस बस्तुहरु व्यापारिक केन्द्र मुुर्कुची, कटारी, गाईघाटमा ल्याई किसानले विक्री गर्ने गर्दछन् ।
भण्डारण केन्द्र नियमितताका लागि सामान राखेवापत न्युन शुल्क लिई सञ्चालन गरिने सञ्चालक समितिका सदस्य डम्बरकुमारी वलम्पाकी मगरले बताईन् । जिल्ला वन कार्यालयको १० लाख र स्थानीय लक्ष्मी, डुम्रिथुम्का, वहमुखि, जाल्मे, नवज्योती, रौतारानी, अन्नपूर्ण, विश्वकञ्चन सामुदायिक वन उपभोक्ता समुह र थापा जडिवुटी केन्द्रको संयुक्त ६ लाख सहयोग गरी १६ लाखको लागतमा भवन निर्माण गरिएको वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले बताए ।