तीज गीतमा विकृति

काठमाडौं- वर्षदिनको तीजमा बाबा लिन आएका

हाम्री बजै पापीनीले सारी लुकाइन्…

गायिका मिना निरौलाको स्वर र गीतकार चेतन कार्कीको रचना रहेको यो तीज गीतमा महिलाका आन्तरिक भावना अभिव्यक्त भएको।  झोरा भाकामा बनेको यो गीत सुन्दा धेरैलाई रमाइलो लाग्छ।

अघिल्लो वर्ष नै आएको विष्णु माझीको गीत ‘मै छोरी सलल, माइतीको झल्काले’ ले तीजमा रमाउँदै नाचेकी चेलीको रहर पोखेको छ। तर, तीजको मर्म र भावना व्यक्त गर्ने गीतको साटो बजारमा यस्ता गीत निस्कन थालेका छन् जसले यो चाडको मर्मलाई नै बिसङगत बनाएका छन्। तीजको समयमा निस्कने यस्ता गीत छाडा गीतको कोटीमा पर्न थालेका छन्।

‘भनेको छु शिवजी एउटी केटी दिलमा सजाउछु

यसपाली नि मेरो बिहे भएन भने

एउटी केटी मेरो भागमा छैन भने

मन्दिर बस्छु, म त खरानी धस्छु

नागको माला लाउँछु अनि घण्टा बजाउछु’

ज्योती मगर र सुरेश रानाको स्वरको यो गीत तीज गीत भनेरै बजारमा आएको छ। तर, गीतमा परम्परागत रुपमा समेटिने चेलीको भावना छैन। गीतले तीजको भावनाभन्दा पनि केटाकेटीको प्रेमको भाषा बोलेको छ। गीतको भिडियोले पनि तीजको परम्परा धान्नेभन्दा विकृति बढाउने तर्फ लागेको छ।

गायक पशुपति शर्माको ‘भविष्यवाणी’, ‘मेरनीको पोई’, ‘पहेरपुरे फूल राम्रो’ जस्ता गीतले पनि तीज गीतमा विकृति थप्न सघाएका छन्।  पशुपतिले ‘नारीको महिना गाउने भनेर’ भन्ने गायिका कोमल वलीसँग गाएका तीज गीतले तीज चाडलाई न्याय गरेको थिएन। तर, शर्मा आफ्ना गीतले विकृति छरेको स्वीकार्न राजी छैनन्।  तीज गीतमा विकृति आएको विषयमा गायक शर्माको आफ्नै बुझाइ छ। ‘मेरो गीत त्यसरी विकृति छर्ने अश्लिल चाँही छैन,’ शर्माले भने, ‘बरु रत्यौली पाराको चाहि होला।’ तर, तीजको समयमा रत्यौली गीत किन निकालेको भन्ने प्रश्नमा उनको जवाफ छैन। उनले रत्यौली पनि आमा, दिदीबहिनीले गाउने भएकाले  तीज र रत्यौली गीत उस्तै रहेको दाबी गरे।

तीज महिलाले नै मनाउने पर्वमा दुईमत नभए पनि शर्मा तीजमा पुरुषको भूमिका अनिवार्य छ भन्ने दाबी गर्छन्। ‘दिदीबहिनीलाई दाजुभाइले माइत बोलाउने हो,’ उनले भने,‘दर ख्वाउने हो अनि त्यसमा तीज गीत गाइयो त के भो।’ उनले तीजको ब्रत पनि पुरुष शिवजीकै बस्ने भएकाले पुरुषले गीत गाउँदा फरक नपर्ने बताए। पशुपतिले यो समयमा अन्य गीतभन्दा तीज गीत बढी चल्ने भएकाले आफूले गाउने गरेको खुलाए।

शर्माले तीजका गीत विकृत हुनमा श्रोताको पनि दोष रहेको बताए। ‘श्रोता र दर्शकका कारण मौलिक तीज गीत हराउदै गएको छ। उहाँहरु तडक भडक भएका गीत रुचाउनुहुन्छ,’पशुपतिले भने,’माइती र पीडाका कुरामात्रै गीतमा गाउँदा रमाइलो हुँदैन। तीजमा गाएका अरु गीतको दर्शक १५ लाख हुँदा मौलिक तीज गीतले बल्ल चार लाख भ्युअर पाउँछ।’ शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष्य पनि हुन्। आफै गायक भएकाले उनी आफू जस्तैले विकृति नल्याएको भए हुन्थ्यो मात्र भन्छन्। ‘यसो नगर भन्ने अधिकार हामीसँग छैन,’ उनले भने,‘ मैले तीज गीत नगाउने हो भने अरु केटाले गाइदिन्छन। मेरो उल्टो कमाइमात्र जान्छ।’

तीज गीतको नाममा तडक भडकवाला गीत गाउने र त्यस्तै भावमा नाच्ने गायिका भनेर चिनिएकी ज्योति मगर समयसँगै तीज गीतमा पनि परिवर्तन आएको सुनाउँछिन्। यसपालाको उनका तीज गीत केही तीजकै जस्ता छन् भने केही उस्तै विरोधाभास झल्कने खालका छन्। ‘छोटो सारीमा नाचेको हो, ढाडे बिरालोमा नाचेको पनि हो’, उनले भनिन् ,‘आरोप लाएजस्तै तल्लो स्तरको विकृति ल्याउने गीत हो भने नसुनेहुन्थ्यो नि। किन सुनेर  मेरो तीज गीतको भ्युज बढाउनु।’ उनले आफ्ना गीत तीजे पार्टीमा सबैभन्दा बढी बज्ने दाबी गरिन्।

उनका अनुसार हिजोको नारीले पानी नखाइ ब्रत बस्ने संस्कार थियो। पछि दुध र फलफूल खान हुन्छ भन्ने जमाना आयो। त्यसरी नै हिजो महिलाले माइत जान नपाउदाका पीडामात्र गीतमा पोखिन्थे। विस्तारै रमाइलोका गीतहरु आउन थाले। अहिलेको तीजका वेदनामा माइत जान नपाएको, चिठी पत्र नआउँदाको, सासुले अन्याय गर्दाको वेदना मात्र नभई बुढाले अर्को ल्यायो बुढीले छाडेर गएका व्यथाहरु पनि आउन थालेको उनी बताउँछिन्।

ज्योतिले तीजका गीतमा उच्छृंखल हुँदै केटाले गाएकैले विकृति भित्रिएको आरोप लगाइन्। ‘जब केटाले माया प्रेमका कुरा तीज गीतमा हाले। त्यहीबाट विकृति सुरु भएको हो,’ उनले थपिन्,‘यसमा कोही एक वा दुई हैन। सबै कलाकार जिम्मेवार छौं।’ रत्यौली भाकामा कम्मर मर्काएको, सेक्सी ज्यान रहेको भन्दै बयान गर्ने पुरुष गायकले नै तीज गीतलाई बढी भल्गर बनाएको उनले आरोप लगाइन्।

गायिका सुनिता दुलाल महिलाको तीजको मौलिक बजार अश्लिल फ्लेबरका गीतका कारण खस्किएको बताइन्। ‘खै दोहोरी भन्ने कि रत्यौली गीत भन्ने?,’दुलालले प्रश्न गरिन्  ,‘बरिलै र रातो सारी जोड्ने बित्तिकै तीजको गीत हुन्छन र? ’यस्ता विकृति नियन्त्रण गर्ने संघ संस्था क्रियाशिल नभएकाले समस्या आएको उनी बताउँछिन्।

तीज गीतमा भित्रिएका विकृतिलाई न्यूनीकरण गर्ने निकायहरु भने मौन देखिन्छन्। ‘तीजको बारेमा सामाजिक व्यवहार सुधार ऐनले बोलेको देखिदैन,’ ललितपुर जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने,‘त्यसैले अब प्रशासनले नै केही सोच्नुपर्ने भएको छ।’

संगीतको क्षेत्र नियमन गर्न बनेको संगीतकार संघ नेपाल अध्यक्ष लक्ष्मण शेषले समाजकल्याण मन्त्रालयको आचारसंहिता अनुसार काम गर्ने बताएपनि तीज गीतको विकृति नियन्त्रण गर्ने खालको नीति नियम भने नरहेको बताए।

‘गीत संगीत रेकर्ड गर्नु व्यक्तिको स्वतन्त्रता हो,’ उनले भने,‘तर त्यस्तो काम गर्ने व्यक्तिले  कुन समाजमा छु भनेर बुझ्नुपर्छ।’ गीत चर्चित बनाउनैको लागि जे पनि लेखिदिने, गाइदिने, खिचिदिने अनि नाचिदिने परम्परा बसेकाले तीज गीतका विकृति थपिएको उनी उल्लेख गर्छन्। नियमन गर्ने निकाय प्रहरी प्रशासनतिर औंल्याउदै उनले संस्कृति मन्त्रालयले पनि ध्यान दिनुपर्नेमा जोड दिए।

‘संस्कृति र संस्कार भनेको देशकै हो,’उनले भने,‘गीतमार्फत यसरी देशको संस्कार बोकेको राष्ट्रियता माथिको प्रहार राज्यले नै नियन्त्रण गर्नुपर्छ।’ अश्लिल तीजका गीत र नृत्यहरु युट्युब र सामाजिक सञ्जालमै बढी रहेकाले सञ्चार मन्त्रालय पनि जाग्नुपर्ने उनले बताए। आफूहरु भद्दा संगीत, भाषा र संस्कृतिको पक्षमा नरहेको भन्दै आगामी दिनमा यसका लागि संघलाई क्रियाशिल बनाउने बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *