



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको आर्थिक विकासमा राजनीतिक अस्थिरता मुख्य तगारो रहेको बताउनुभएको छ । नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन (नेफ्फा)द्वारा शनिबार होटल सोल्टीमा आयोजित ‘२३औ कार्गो डे’ को अवसरमा बोल्दै उहाँले विभिन्न आर्थिक विकासको सम्भावना बोकेको देशमा अस्थिर राजनीतिका कारणले नेपालको विकास र समृद्धिमा ठूलो असर परेको बताउनुभएको हो ।
विभिन्न समयमा छिमेकी राष्ट्रहरुसँग भएका पारवहन सम्झौताको कार्यान्वयन हुन नसकेको भन्दै उपराष्ट्रपति पुनले विभिन्न उद्योग कारखानाहरु बन्द हुनु, ढुवानीको क्षेत्रमा सरकारले प्रभावकारी ढंगले पहल नगर्दा नेपालले समस्या भोग्नुपरेको समेत बताउनुभयो ।
उहाँले पछिल्लो समय आर्थिक विकासले गति लिँदै गएको उल्लेख गर्दै छिमेकी राष्ट्र चीनसँग भएका सन्धि सम्झौताहरुलाई कार्यान्वयन गर्दै अघि बढ्ने समय आएकोसमेत बताउनुभयो ।
उद्योग मन्त्री मिन विश्वाकर्माले राजनीतिक परिवर्तनसङ्गै मुलुक अहिले आर्थिक सम्ब्रिद्दीको बाटोमा अघि बढेको भन्दै लगानी गर्न स्वदेशी तथा बिदेशी लागानी कर्ताहरुलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल उद्योग बानिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, फेडेरेसन अफ एसिया प्यासिफिक एयरकार्गो एसोसिअसनका अध्यक्ष एलेक कोहलगायतका बक्ताहरुले नेपालमा लागनीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल एसोसिएसन अफ टूर्स एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्य नेफ्फा एनुअल अवार्ड २०१७ बाट सम्मनित हुनुभएको छ । फ्रेट फर्वाडिङ उद्योगको बृदि बिकासको लागि महत्वपूर्ण योगदान दिएको भन्दै उपराष्ट्रपति नन्दबहादुर पुनले सो सम्मान प्रदान गर्नुभएको हो ।
सोही अवसरमा फ्रेट फर्वाडिङ उद्योगको प्रवद्र्धन र विकासमा योगदान पुर्याउने विभिन्न व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुलाईसमेत सम्मान गरिएको थियो ।