संघीय र नयाँशक्तिबाट उदयपुरमा ३ नगरपालिकामा उम्मेद्वार तय

उदयपुर, २४ जेठ ।  आउदो जेठ १४ गते हुन गईरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उदयपुरका साना दलको गठबन्धनले जिल्लाका ४ मध्ये ३ वटा नगरपालिकामा उम्मेद्वार तय गरेको छ । संघीय समाजबादी फोरम र नयाँ शक्ति नेपाल पार्टीको गठनबन्धनबाट सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा मेयर, उपमेयर र वडाध्यक्षको उम्मेद्वार तय गरेको हो ।

गठबन्धनले त्रियुगा नगपालिकामा नयाँ शक्तिका भैरव श्रेष्ठ मेयरको उम्मेद्वार बनाएको छ । उपमेयरमा संघीय समाजबादी फोरमका सम्झना राईलाई उठाउने तय भएको जनाएको छ । त्यसैगरी चौदण्डीगढी नगरपालिकामा संघीय समाजबादीका कुमारचन्द्र राई मेयरमा उठ्ने भएका छन् भने उपमेयरमा नयाँ शक्तिको तर्फबाट उठ्ने तय भए पनि नाम टुंगो लागिसकेको छैन । बेलका नगरपालिकामा संघीयकै टीकाराम थामी र नयाँ शक्तिका उषा चौधरी क्रमशः मेयर र उपमेयरमा उठ्ने तय भएको ससफो उदयपुरका सचिव प्रदिप चौधरीले बताए ।

यो गठबन्धनले गाउँपालिका र वडामा पनि उम्मेद्वार उठाउने तयारी गरिरहेको छ । सुनकोसी गाउँपालिका अध्यक्षमा नयाँ शक्तिका लोकेन्द्र केसी गठबन्धनबाट उठ्ने तय भईसकेको नयाँ शक्तिका जिल्ला परिषद सदस्य मनराज राईले बताए । ‘सकेसम्म गाउँपालिका र वडातहसम्मै हाम्रा उम्मेद्वार उठाउने प्रयास भईरहेको छ’ उनले भने ‘पहिलो चरणमा ३ नगरपालिकामा उम्मेद्वार तय गरेका छौं, १ नगर र गाउँपालिका तथा वडाहरुमा ककसलाई उठाउने भन्ने विषयमा छलफल भईरहेको छ ।’ यो गठबन्धनले अन्य साना दलहरुसँग पनि सहयोग लिन तालमेलको प्रयास गरिरहेको जनाएको छ ।

भखैरै ६ दल जुटेर बनेको राष्ट्रिय जनता पार्टी र वैद्य नेतृत्वको एकीकृत नेपाल कम्युनिष्ट पार्टीलाई पनि गठबन्धनभित्र अँटाउने प्रयास गरे पनि उनीहरुसँग तालमेल हुन नसकेको सचिव चौधरीले बताए । तर, उनीहरुले छुट्टै उम्मेद्वार नउठाउने भएकाले कांग्रेस, एमाले र माओबादी केन्द्रलाई सहयोग गर्नुको साटो आफुहरुलाई नै गर्ने अनुमान चौधरीको छ । नयाँ शक्तिका जिल्ला अध्यक्ष अदव खनालका अनुसार नयाँ शक्ति र ससफोबीच पार्टी एकता हुने लगभग टुंगो लागिसकेकाले मिलेरै उम्मेद्वार खडा गर्ने निर्णय भएको हो । दुईपार्टीबीच एकताको पूर्वसन्ध्यानमा हुन लागेको चुनावमा गठबबन्धन बनाएरै उम्मेद्वार खडा गरेको उनले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *