माओवादीलाई भोट किन दिने ? गोपाल किरातीको दृष्टिमा ७ कारण

Image

नेकपा माओवादी केन्द्रलाई भोट दिनुपर्ने दर्जनौँ कारणहरु छन् । ती मध्ये केही प्रमुख कारणहरु यहाँ मैले यसरी उल्लेख गरेको छु ।
गणतन्त्र
यो देशमा गणतन्त्र माओवादीको कारणले आएको हो । जसको रक्षा जनताको तहबाट हुनु पर्छ । त्यसको लागि पनि माओवादी केन्द्रलाई भोट दिनुपर्छ । गणतन्त्र नै नेपाली समाजको परिवर्तनको मूल ढोका हो । मधेसवादी साथीहरु वा जनजाती साथीहरुले पनि विचार गर्नु जरुरी छ । एउटा गीत नै बनाएकाु छु,‘पहिचान हामी खोजौँला कहाँ गणतन्त्रै नरहे …’ म कवि भएको भए कविता लेख्थेँ । पहिचानको नाममा ठूलो स्वरमा कराउने तर गणतन्त्रको लागि ‘ग’ नबोल्ने पहिचानवादीहरुको खतरनाक विषय छ । जसले बेदानन्द झा जन्माउन खोजेका छन् ।
यदि राजा फर्काएर ल्याएर हिजोकै शक्तिमा ल्याउने हो भने मधेसीले कहाँ खोज्ने पहिचान ? लिम्बुले कहाँ खोज्ने ? तामाङ, किराँतीले कहाँ खोज्ने ?
त्यसकारण मूल ढोका भनेकै गणतन्त्र हो । पहिचान र उत्पीडित जातीहरुको अधिकारको लागि माओवादीलाई मतदान गर्नु पर्छ ।

संघीयता
संघीयताको विषयमा हामी माओवादीहरु स्वायत्तता भन्थ्यौँ । सेना, वैदेशिक सम्बन्ध, मुद्रा केन्द्र सरकारको हुँनेगरी बाँकी राजनीतिक, आर्थिक सांस्कृतिक अधिकार सम्पन्न स्वायत्तताको अभ्यास हामीले खोजेको हो ।
मधेसवादीहरुले भन्छन्,‘संघीयता हामीले ल्याएको हो ।’ त्यो सही नै हो । उहाँहरुकै जोडले संघीयता नाम स्थापित भयो । मधेसी जनतालाई संघीयता भए पुग्छ । जनजाती आदीवासीलाई संघीयताले मात्रै हुँदैन । स्वायत्तता पनि चाहिन्छ । जनसंख्या भूगोल सबै दृष्टिकोणले मधेस एउटा क्लस्टर बनेको छ । दुई नम्बर प्रदेश मधेस नै हो । संघीयता भनेर मात्रै हुँदैन जातिय क्षेत्रिय स्वायत्ता हामीले भनेका छौँ । संघीयता त भयो तर प्रदेशको नामाकरण बाँकी छ ।

त्यो बाहेक अरु भौगोलिक संघीयता भयो । तैपनि छिमेकी भारतमा शुरुमा स्वतन्त्र हुँदा ११ प्रदेश थियो रे । अहिले २९÷३० पुगेको छ । यो गणतन्त्र रक्षा गर्न सकियो र संविधानको सिद्धान्त रक्षा गर्न सकियो भने नेपाल बलियो हुन्छ भन्ने हाम्रो मान्यता हो । अहिले हाम्रो शक्ति पुगेन । संघीयतालाई पनि विस्तार गरेर जनताको तहमा पु¥याउनुपर्छ । नेपाली समाजको विशेषता अनुकुलको संघीयतामा पु¥याउनका लागि माओवादीलाई मत दिनुपर्छ ।

समानुपातीक समावेशी
हिजो प्रचण्ड प्रधानमन्त्री बनेपछि समावेशी ऐन बन्यो । थुप्रै महिला, जनजाती, मधेसी युवाहरु, कर्णाली क्षेत्रका युवाहरु समावेशी व्यवस्थाबाट राष्ट्र सेवामा अधिकृत बनिसक्नु भएको छ । प्रहरी, सेना, निजामतिमा बनिसक्नुभएको छ । त्यसको रक्षा गर्नुपर्छ । पशुहरुको दुनियाँमा जसलाई जंगली राज पनि भनिन्छ । डार्विनले ‘सर्भावल अफ द फिटेस’ भनेर जो सिद्धान्त प्रतिपादन गरे त्यो सहि हो ।
तर त्यसलाई मान्छेको जगतमा लागु गर्ने पुजिपति साम्राज्यवादीहरुको रबैया छ । त्यसो हुँनाले त्यसलाई सामाजिक डार्विनवाद भनियो । यता माक्र्सवादले चाहीँ ‘बेसिकल्ली सर्भाइबल अफ द फिटेस’ अर्थात कमजोरले पनि बाँच्न पाउनुपर्छ । उसले मौका पाउनुपर्छ । किन भने यो मान्छेको दुनियाँ हो जनावरको दुनिया होइन । एउटा बाघ बुढो भयो ओडार गएर बस्यो । त्यसलाई कसैले जाउलो बनाएर दिँदैन । उ आफै बाँच्न सक्षम हुनुप¥यो । या त नसकेपछि मर्छ । बुढो भएको बाघलाई कसैले सिटामोल पु¥याउँदैन । तर, मान्छेले पु¥याउँछ । त्यसैले उत्पीडित जाती, लिंगको पक्षमा समानुपातिक समावेशी अधिकार खोजेका हौँ । हामीले खोजे जस्तो आएन । शक्ति नपुगेको हुनाले थोरै मात्रै आयो । जे जति भयो त्यसको रक्षा गर्नुपर्ने जरुरी छ । खासगरी दलित, महिला, मुश्लिमको हकमा विशेष अधिकारको व्यवस्था संविधानमा जति व्यवस्था गरिएको छ त्यसको रक्षा गर्न र अपुगलाई हासिल गर्न माओवादी केन्द्रलाई मत दिनुपर्छ ।
दलितबारे खड्क ओलीको भूष तिघ्रे दिमाग
दलितलाई पाइलट वा डाक्टर नबनाइ छूवाछुत भेदभाव कम हुँदैन । स्टालिनलाई छालाको काम गर्ने हुँनाले नेपाली कम्युनिस्टहरुले ‘सार्की’ भने । तर, त्यहाँ नेपालमा जस्तो विभेद थिएन । नेपालको सार्कीलाई छुवाछूतले नै ठहरै बनाएको छ । खराब मनोविज्ञान बनाइदिएपछि कसरी स्टालिन बनोस् ?
एडम स्मिथ जसलाई बेलायतको नामुद अर्थशास्त्रि भनिन्छ । ती कामी हुन् । तर, त्यहाँ छुवाछूत भेदभाव थिएन । ‘भारतीय जेलमा पाचौँ साल’ भनेर ‘मेरि टेलर’ले एउटा उपन्यास लेखेकी छन् । आफ्नो जीवन कथा लेखेकी छिन् । नेपालको भाषामा भन्ने हो भने ती दमाइ हुन् । तर, त्यहाँ छूवाछुत भेदभाव थिएन । यहाँ पानी बारिन्छ । घर भित्र प्रवेश गर्न दिइँदैन । दलितलाई डाक्टर बनाइदिएपछि विरामीको उपचार गर्नुप¥यो । उपाध्यय ब्राम्हण बजै विरामी भइन् । एउटा दलित समुदायको डाक्टरको अगाडी कित मर्नु प¥यो कि उपचार गर्नुप¥यो । नेपाली समाजको अद्योगीकरण अन्त्य नभइकन छूवाछुत भेदभावको अन्त्य हुँदैन ।
म किराती समुदायबाट आएँ । ब्राम्हणबाट चाहिने कुरा किरातीले केही सिकेन । दलितलाई बाहिर राख्नुपर्छ भन्ने कुरा यति नराम्रोसँग सिक्यो । यो छुवाछूत भेदभाव किराती वा जनजाती समुदायमा नभइदिएको भए मलाई सजिलो हुन्थ्यो ।
नेपालमा खड्कप्रसाद ओलीहरु मनुको व्यवस्था कायम गर्नुपर्छ भन्ने ठान्छन् । राममणि आचार्य दीक्षितले ८ सालमा कविता लेखेछन् । प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले विमोचन गरे । कविता संग्रहको नाम थियो ‘भलो कुराको नमुना ।’ जसको एउटा अंश यस्तो थियो –
जंगली स्वाँठे,
पाखे, तिघ्रे
भूष तिघ्रे
डोके, खरबनेको
देशमा नराख्नु ,
भगवान यीनीहरुलाई यस्तै रहन दिनु (भगवान भनेको राजा)
यीनीहरु सभ्य र शिक्षीत भए हाम्रो स्थीति कहाँ जाला ?
मन्त्रीमण्डल जोड्दा बाहुन क्षेत्री लिनु
त्यो पनि उच्च कुलको, मतवाली कोही नलिनु ।
यो भर्खरै ८ सालको कविता हो । प्रजातान्त्रिक सरकारको प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले विमोचन गरेका थिए । पहिलो संविधानको राज्यको पुर्नसंरचना समितिमा छ सात पटक मैले यो कविता वाचन गरेँ । कांग्रेस नेता नरहरी आचार्यले ‘मैले पनि पढेको’ भन्नु भयो अरु चुपचाप ।
खड्क ओलीको यही विचारले प्रतिक्रान्ति गर्न खोजी राखेको छ । केही वर्षअघि उनले भनेकै थिए,‘हावा हुरी आयो त्यसैले संघीयता र गणतन्त्र मानेको हुँ नत्र कहाँ मान्थेँ !’ माधव नेपालले पनि भनेकै हुन् । एउटा खुसीको कुरा नेपाली समाजको एउटा ठूलो जनसंख्या भएको दलित समुदाय धर्मको दृष्टिले हिन्दु, उपत्तिको दृष्टिले आर्य खस । जनयुद्ध जनआन्दोलन हुँदै अहिलेसम्म आउँदा नेपाली दलितहरु कसैले पनि अब आफूलाई शुद्र मान्न तयार छैन ।

दलिएको हुनाले दलित भन्ने शब्द प्रयोग भएको हो । ‘म दलित हुँ’ हरेक दलितले सगर्भ भन्छन् । अब शुद्र हुँन कोही तयार छैन । २५ सय वर्षसम्म हेपिएका दलित अब जुर्मुराएका छन् । यो चेतनाले खड्क ओलीको भुष तिघ्रे दिमाग खरानी पार्छ । खड्क ओली नेपाली समाजको अग्रगामी परिवर्तनको बहावको प्रतिकुल उभिएका छन् ।
धर्म निरपेक्षता
धर्म निरपेक्षता भनेको लोकतन्त्रको अर्को पहरा हो । लोकतन्त्र हुँनको लागि धर्म निरपेक्षता हुनुपर्छ । तानासाही निरंकुशतामा धर्म निरपेक्षता फूल्न सक्दैन । धर्मनिरपेक्षता र लोकतन्त्र एकै सिक्काका अभिन्न पाटाहरु हुन् । धर्म निरपेक्षता हुँदैमा हिन्दु धर्मलम्बीहरुको कहीँ कटौती हुँने देखिँदैन । आ–आफ्नो धर्मकर्म मानेर खान पाउने भए । यसमा यसमा विशेष कुरा पनि छ । हिन्दु धर्मालम्बीहरुको संख्या ८२ प्रतिशत भन्नेमा मलाई ठूलो शंका छ ।

नेपालमा राष्ट्र सेवक अधिकृत हुँनका लागि योग्यता पुगेको हुनुपर्छ । अर्थात स्नातक गरेको हुनुपर्छ । हिन्दु धर्मावलम्बी हुँनका लागि योग्यता के हो । मैले दुई वर्षअघि संविधान निर्माण गर्दै गर्दा भनेको थिएँ । हिन्दु धर्मालम्बीहरुको संख्या २ प्रतिशत हो । नेपालमा अब खसहरु हिन्दु रहेनन् । इतिहासमा पनि थिएनन् । जो मस्टो पुजा गर्छन् । जसको जनसंख्या १६ प्रतिशत छ । मिसिएका छन् उनीहरुलाई अवैदिक आर्य पनि भन्छन् । राजकाजमा खस छैनन् ।

राजकाज गर्ने सबै बाहुन छन् । इतिहासमा सम्झौता उलंघन गरेर बाहुनहरुले राजकाज गरेका हुन् । जसले राजकाज चलायो त्यो बाहुन हिन्दु होइन । हिन्दु हुँनका लागि राजकाज गर्न पाइँदैन । मन्दिरमा बस्नुप¥यो घण्टा बजाउनु प¥यो । राजकाज गर्ने क्षेत्रीलाई सहयोग गर्नु प¥यो । ब्राम्मण कुलमा जन्मिएको मानिस आफ्नो ब्राम्हण दायित्वबाट उलंघन गरेर राजकाजमा पुग्यो त्यो हिन्दु होइन । खड्क ओलीले आफूलाई काहीँ नभएको हिन्दु ठानेर हिँडेको छ । त्यो हिन्दु होइन । ती हिन्दु भए त पुरेत्याईं गर्नु पर्छ पण्डित्याईं गर्नुपर्छ । राजनीति गर्न पाईंदैन । यसरी भ्रष्टिएका ब्राम्हण धेरै छन् । आदिवासी जनजाती बैश्य होइनन् । उनीहरु हिन्दु होइनन् । उनीहरु ब्राम्हण, क्षेत्री, बैश्य, शुद्र भित्र पर्दैनन् । दलित पनि हिन्दु होइनन् । १३ प्रतिशत दलितले हिन्दु हुनका लागि सगौरभ म शुद्र हुँ भनेर उभिनुपर्छ । त्यो अवस्था अहिले छैन ।
त्यस्तै गरी यतिधेरै सेनापति, प्रशासक, प्रहरी अधिकृत, राजदूत बनेका ब्राम्हण कुलका मान्छेहरु कोही पनि ब्राम्हण धर्ममा छैनन् । त्यसकारण त्यो बाहुन् भ्रम पालेर हिँडेको छ,‘म त बाहुन हुँ । उच्च जात हुँ ।’ भन्ने भ्रम छ विचराहरुलाई । मुश्लिम, बुद्धिस्ट, क्रिश्चियन हिन्दु होइनन् । त्यसैले हिन्दुको जनसंख्या २ देखि तीन प्रतिशत हो । हिन्दुको जनसंख्या कति हो मन्दिरमा गएर हेर्नुपर्छ । यसलाई सकारात्मक रुपमा हेर्नुपर्छ । नेपाली ब्राम्हण समुदाय व्यापक ढंगले लोकतान्त्रिकरण भएर गयो । नेपालमा विदेशी धर्म भित्रीयो भनिन्छ । यसमा तत्कालिन शासकहरुको नीति जिम्मेवार छ ।
बुद्धको जन्म लुम्बीनिमा भयो । हामी गौरभ गर्छौं । बुद्ध धर्मलाई पनि हिन्दु धर्मलाई जस्तै राज्यले हिजो प्रोत्साहन गरेको भए विदेशी धर्म कहाँबाट आउँथ्यो ? दुई वटै स्वदेशी हुन्थे ।
राष्ट्रिय स्वाधिनता
नेपालमा राष्ट्रियताको सवालमा आन्तरिक र बाह्य पक्षलाई हेर्नु पर्छ । यहाँको मधेसी जनजाती र उत्पीडित जातीलाई अधिकार सम्पन्न बनाउनु आन्तरिक राष्ट्रियताको विषय भयो । सबै समुदायको एकीकृत स्वरुप चाहीँ नेपाली राष्ट्रियता हो । नेपालमा नयाँ राष्ट्रिय एकिकरण गर्नुपर्छ ।

पृथ्विनारायण शाहले भौगोलिक रुपमा एकीकरण गरे तर आन्तरिक रुपमा उत्पीडन कायम राखे । पृथ्वीनारायण शाहको भौलिक एकतालाई यथावत राख्दै सम्मान गर्र्दै आन्तरिक व्यवस्थापन मिलाउनुपर्छ । यसैको निम्ती मधेसीहरुको कुरालाई नेपालको सार्वभौमसत्ता क्षेत्रीय अखण्डता राष्ट्रियतालाई अझ बलियो बनाउनुपर्छ । यसले नयाँ राष्ट्रिय एकता कायम गर्छ जुन राष्ट्रिय एकताको पक्षमा खड्क ओली छन् ।
बाह्य राष्ट्रियतका लागि पनि पहिचान अनिवार्य हो । लिम्बुवान बनाएपछि मात्रै त्यहाँको जनता खुसी हुन्छन् । नत्र अरब र मलेशिया नै जाने हुन् । यसकारण नयाँ राष्ट्रिय एकिकरण चाहिएको हो । छिमेकीसँगको प्रश्नमा प्रचण्डले त्रिदेशीय रणनैतीक साझेदारी भनेर अघि सार्नु भएको छ । छिमेकी साट्न मिल्दैन । जबसम्म गरिबी रहन्छ तबसम्म हिंसा रहने खतरा रहिरन्छ । नेपाली भएर बाँच्न पाउनुपर्छ । अहिले प्रधानमन्त्री भएपछि प्रचण्डले भारत र चीनसँग सन्तुलित व्यबहार गरिराख्नु भएको छ ।
भारत दक्षीण एशियाको केन्द्र हो । उसँग अहंकार गर्ने बस्तुहरु छन् । हामी कमजोर होइन । भारतीय शासकहरु हामी नेपाली प्रति विस्तारवादी रबैया अपनाउँछन् । नेपाली शासक र बुद्धिजीविहरु भारतसँग लम्पसार पर्छन् । यहाँको इतिहास नै लम्पसारवादी छ । त्यसलाई दुई ढुङ्गाबीचको तरुलको परिभाषा गरिएको छ । प्रचण्डले युद्धकालमा भन्नु भयो ,‘तरुल होइन दुइ ढुङ्गाबीचको डाइनामाइट हो’। अहिले त्रिदेशीय साझेदारीमा पुगेको छ । ओलीको राष्ट्रवाद महेन्द्रीय, मण्डले राष्ट्रवाद जस्ता आरोपहरु छदैछन् ।
मधेसवादी नेताहरुले गणतन्त्रलाई ठीक ठाउँमा हिँडाउँन सकियो भने एमालेको राष्ट्रवाद र खड्क ओलीको राष्ट्रवाद उदांगो हुनेनै छ ।
शिक्षा, स्वास्थ्य,खाद्य सम्प्रभूता
शिक्षा स्वास्थ्य रोजगारी, आवास खाद्य सम्प्रभूतालाई नेपाली नागरिकको मौलिक अधिकारको रुपमा स्थापिन गर्न माओवादी केन्द्रलाई मत दिनुपर्छ । संविधानमा त्यो व्यवस्थापनि छ । तीन वर्ष भित्र ऐन र कानुन बनाएर यो लागु हुन्छ । माओवादीको कारण त्यो आएको हो । अलिकति समाजवाद उन्मुख देखिएको छ ।
म ३९ सालदेखि काठमान्डुमा छु । त्रिचन्द्र कलेज त्यतिबेला नायक कलेज थियो । बानेश्वर,आरआर कलेजहरु त्यस्तै थिए तर, अहिले सरकारकी क्याम्पसहरु ओडार जस्तै भएका छन् । नीजि लगानीका विश्व विद्यालय जस्ता भएका छन् । यो कांग्रेस एमालेको नीति अनुसार भएको हो । त्यसो हुँनाले शिक्षा, स्वास्थ्य, आवास, तथा रोजगारी र खाध्य सम्प्रभूताको मौलिक अधिकार कार्यन्वयन गर्नका लागि माओवादीलाई मत दिनुपर्छ ।
गाउँ नगरमा सिंह दरबार ।
यो माओवादी आन्दोलनको उपलब्धि हो । सिंह दरबार नेपाल राज्यको शक्ति केन्द्र हो । त्यहाँबाट मात्रै निर्णय गरिने हाम्रो राज्य व्यवस्था थियो । अहिले सात सय ४४ वटा स्थानिय सरकार बन्ने भएको छ । यो माओवादी आन्दोलनको उपहार हो । माओवादीले युद्धकालमा वैकल्पिक जनसरकारको रुपमा जुन विकास गरेको थियो । कांग्रेस र एमालेले बनाएको होइन । उनीहरुले त गाउँ पञ्चायतलाई गाविस बनाएको हो । यो हामीले आमूल परिवर्तन गरेका छौँ । माओवादी आन्दोलनले निर्माण गरेको ८ सय जिल्लाको अवधारणा र यो जुन स्थानिय निकायको चुनाव जो हुँदैछ । तत्कालिन माओवादी जनसरकारको पुनर्गठन हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *