२ सय ५० मिलिग्राम ब्राउन सहित उदयपुरमा एक युवक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ घर भई हाल चौदण्डीगढी नगरपालिका–३ भोर्लेनीस्थित राजकुमार मगरको घरमा डेरा गरी बस्ने २७ वर्षीय सुशान्त राउत रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राउतले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार दिउँसो करिब ४ बजे इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले उनको डेरामा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा कोठाको टेबलमा प्लास्टिकमा पोका पारेर राखिएको अवस्थामा प्लास्टिकबाहेक तौल गर्दा २५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थसहित राउतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box