सुर्खेमा बस दुर्घटना : एकको मृत्यु, एक गम्भीरसहित १५ घाइते


गाईघाट । मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा बिहीबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–००६ ख ८५२२ नम्बरको बस सुर्खेमा अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनाका बेला बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटनामा बसले च्यापिएर गम्भीर घाइते भएका चौदण्डीगढी नगरपालिका–बसाहका १८ वर्षीय सोनु बस्यालको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल गाईघाटमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार दुर्घटनापछि बस चालक ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का ३० वर्षीय सुमन खत्रीलाई नियन्त्रणमा लिइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box