



नयन राई
त्रियुगा । उदयपुरमा स्वर्गीय खेलाडीहरूको सम्झनामा फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता शनिबारदेखि उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित बरघट्टामा सुरु भएको हो ।
एलेभेन स्टार फुटबल क्लब बोक्सेको आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा विभिन्न स्थानका ८ वटा फुटबल टिम सहभागी भएको आयोजना समिति संयोजक मिलन राईले बताए ।
उनका अनुसार पहिलो चरणमा डीडीवाईसी बेल्टार र सिसवारी एफसी र सप्तरीबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै गाईघाट युनाइटेड र रौतामाई स्पोर्ट क्लब, सलिना स्पोर्ट्स एफसी र पानिटंकी एफसी, तथा बाघा युथ ग्रुप र ११ स्टार एफसीबीच पहिलो चरणका खेल हुनेछन ।
पहिलो चरणपछि असोज ७ र ८ गते सेमिफाइनल तथा असोज १० गते फाइनल खेल हुने आयोजकले जनाएको छ । “खेलाडी कहिल्यै मैदानमा, उनीहरू सधैँ हाम्रो सम्झनामा बाँचेका हुन्छन्” भन्ने सन्देशसहित आयोजना गरिएको प्रतियोगिताको मुख्य उद्देश्य स्वर्गीय खेलाडीहरूको स्मरण गर्नुका साथै स्थानीयस्तरमा फुटबल खेलको विकास र खेलाडी उत्पादनमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक तथा वर्ल्डलिंक इन्टरनेट पार्टनरका रूपमा रहेको छ । आयोजक ११ स्टार फुटबल क्लबले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी तथा स्थानीयवासीलाई सहभागिता र सहयोगका लागि आग्रह गरेको छ ।