



खोटाङ । किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा कृष्णकला राई ‘सुनिता’ सर्वसम्मत चयन हुनुभएको छ । दिक्तेलमा आइतबार सम्पन्न संघको छैटौँ जिल्ला अधिवेशनले राईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष कृष्णकला राई नेपाल पत्रकार महासंघ खोटाङ शाखाकी सदस्यसमेत हुनुहुन्छ । उहाँले जिल्लामा रहेर खोटाङ टुडे डटकम सञ्चालन गर्दै आउनुभएको छ। हालै सम्पन्न नेपाल प्रेस युनियन खोटाङको अधिवेशनबाट उहाँ उपाध्यक्षमा समेत निर्वाचित हुनुभएको छ ।
अधिवेशनबाट संघको सात सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा योगिन राई, सचिवमा राजहरि राई, सहसचिवमा मनिता राई र कोषाध्यक्षमा मिनाक्षी राई ‘आत्मा’ चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा पवन राई र रोषण राई ‘पङ्की’ चयन हुनुभएको निवर्तमान अध्यक्ष अधिराज राईले जानकारी दिनुभयो ।
यसैगरी संघको संघीय महाधिवेशन प्रतिनिधिमा रामधन राई ‘बेदना’, सीताराम राई ‘सञ्जीव’ र मिनाक्षी राई चयन हुनुभएको छ । दिक्तेलस्थित हलेसी न्यूज नेटवर्क प्रालिको कार्यालयमा सम्पन्न अधिवेशनमा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिबोल आचार्यसहित जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।