



उदयपुर । डिभिजन वन कार्यालय उदयपुर, गाईघाटमा कार्यरत वन अधिकृत भुवन पौडेल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई बिहीबार कार्यालयबाटै १६ हजार २५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।
पौडेल डिभिजन वन कार्यालय उदयपुरका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारीसमेत हुन् । अख्तियारको टोली विशेष सूचनाका आधारमा बिहीबार दिउँसो करिब साढे ४ बजे डिभिजन वन कार्यालय पुगेको थियो । त्यसपछि कार्यालय परिसरमा निगरानी बढाएको टोलीले पौडेललाई सेवाग्राहीसँग सम्बन्धित काम सहज बनाइदिने भन्दै रकम लिएको आरोपमा पक्राउ गरेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले वन अधिकृत पौडेललाई अख्तियारको टोलीले नगदसहित पक्राउ गरेको जानकारी आफूलाई प्राप्त भएको बताए । उनका अनुसार घटनाबारे अख्तियारले आवश्यक अनुसन्धान अघि बढाउनेछ ।
पौडेलले सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गरिदिने भन्दै रकम मागेको आरोप लगाइएको छ । यद्यपि, रकम दिने भनिएको सामुदायिक वन उपभोक्ता समूहको नाम तथा अन्य विवरण भने सार्वजनिक गरिएको छैन ।
अख्तियारको टोलीले घटनासँग सम्बन्धित कागजात, प्रमाण तथा अन्य विवरण संकलन गरी थप अनुसन्धान अघि बढाउने बताइएको छ । यस घटनासँगै डिभिजन वन कार्यालय गाईघाटको सेवा प्रवाह र कर्मचारीको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ । पछिल्लो समय वनसम्बन्धी कामका क्रममा सेवाग्राही तथा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसँग रकम माग्ने गरेको गुनासो आउने गरेको बताइएको छ ।
तर, पक्राउ परेका पौडेलमाथि लागेको आरोप पुष्टि भइसकेको भने छैन । उनीमाथिको आरोपबारे अख्तियारको अनुसन्धान तथा त्यसपछिको कानुनी प्रक्रियाबाट वास्तविकता स्पष्ट हुनेछ ।