अध्यक्ष सेढाईको कार्यशैलीप्रति असन्तुष्टिपछि वन पैदावार उद्योग व्यवसायी संघ उदयपुरको जिल्ला अधिवेशन हुदै


उदयपुर । अध्यक्ष सुशील सेढाईको कार्यशैलीप्रति असन्तुष्टि बढेपछि नेपाल वन पैदावार उद्योग व्यवसायी संघ उदयपुरको जिल्ला अधिवेशन हुने भएको छ । संघका कोषाध्यक्ष अच्युतनन्द चौधरीका अनुसार आगामी भदौ २१ गते जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरिएको छ ।

केही दिनअघि बसेको कार्यसमितिको बैठकले अधिवेशनको मिति र स्थान टुङ्गो लागेको हो । कोषाध्यक्ष चौधरीका अनुसार अधिवेशन उदयपुरको प्रमुख पर्यटकीय स्थल रौतामाई पोखरीमा हुनेछ ।

यसअघि संघका अध्यक्ष सुशील सेढाईले कार्यसमितिको कुनै निर्णयबिना संस्थाको लेटरप्याड, छाप तथा अधिकारको दुरुपयोग गर्दै आफूखुसी निर्णय गरेको आरोप लगाउँदै महासचिव ढकबहादुर विष्ट, सचिव फडिन्द्रबहादुर के.सी. र कोषाध्यक्ष अच्युतनन्द चौधरीले सामूहिक राजीनामा दिएका थिए ।

उनीहरूले भदौ ६ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सेढाईले संस्थाको विधि, विधान र सामूहिक निर्णयको बेवास्ता गर्दै एकलौटी ढंगले संस्थाका गतिविधि सञ्चालन गरेको आरोप लगाएका थिए । महासचिव ढकबहादुर विष्टका अनुसार हालसम्म उनीहरूको राजीनामा स्वीकृत भएको छैन ।

संघका केही सदस्यहरूका अनुसार महासचिव, सचिव र कोषाध्यक्षको सामूहिक राजीनामापछि नेतृत्वमाथि दबाब बढेपछि अध्यक्ष सेढाई अन्ततः जिल्ला अधिवेशन गर्न बाध्य भएका हुन् । अध्यक्ष सेढाईलाई बेलका नगरपालिका–६ र ८ स्थित सिंगादेवी सामुदायिक वन उपभोक्ता समितिको गोलिया काठ लिलामसम्बन्धी टेण्डर रद्द गर्न माग गरेको आरोप छ ।

उनले टेण्डर रद्द गर्न माग गर्दै गत असार ६ गते डिभिजन वन कार्यालय गाईघाटलाई लेखेको पत्र सार्वजनिक भएको हो । उक्त पत्र आफू अनुकूलताको फर्मलाई टेण्डर पार्न अध्यक्ष सेढाईले लेखेको हुनसक्ने अनुमान धेरैले गरेका छन् । यद्यपि, यस विषयमा अध्यक्ष सेढाईको प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।

Facebook Comments Box