रीता बुढाथोकी
१० महिने सफल कार्यकालको समापन गर्दै बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा दिए । राजिनामा दिने क्रममा उनले आफूले गरेको कार्यहरुको फेहरिस्त सुनाए । नेपाली कांग्रेससँग भएको भद्र सहमतिको आधारमा गत वर्ष साउन १९ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । ‘राजनीतिमा देखिएको नैतिक खडेरीलाई’ अन्त्य गरेको भन्दै उनले पदबाट राजिनामा दिएपछि चौतर्फी प्रशंसा समेत भइरहेको छ । नेपालको इतिहासमा नै पहिलो पटक विपक्षितले समेत प्रधानमन्त्रीको राजिनामा रोक्नका लागि संसद अबरुद्ध गरेपछि उनले संसदमा संबोधन गर्ने नैसर्गिक अधिकार गुमाए । प्रचण्ड नेतृत्वको १० महिने कार्यकाल कस्तो रहयो त ? प्रस्तुत छ बरिष्ठ लेखक तथा राजनीतिक विश्लेषकद्वय खगेन्द्र संग्रौला र किशोर नेपालको विश्लेषण : प्रचण्ड सरकार अहिलेसम्मकै सफल र उत्कृष्ठ
खगेन्द्र संग्रौला
लेखक तथा राजनीतिक विश्लेषक
यसअघि प्रचण्ड र केपी ओलीबीच भएको गठबन्धनमा ओलीले प्रचण्डसँग गरेको भद्र सहमती उल्लङ्घन गरेका कारण उनीहरुकाबीच खटपट भयो । त्यही कारण ओली सरकार विघटनमा पुग्यो । पछि काङ्ग्रेससंग गठबन्धन गर्दा ९/९ महिनाको आलोपालो प्रणाली शुरु भयो । स्थानीय निकायको निर्वाचन प्रक्रिया ९ महिनासम्म अघि बढ्न नसकेपछि प्रचण्ड नेतृत्वको सरकारको अवधि लम्बियो ।
राजनीतिक दलदहरुको आपसी सहकार्य गठबन्धन र सद्भाव भनिए पनि राजनीतिलाई जालझेल मात्रै बनाइयो । तर, यस पटक प्रचण्डले कमसेकम आफ्नो वचन अनुसार सरकारबाट राजिनामा दिए । यो अत्यन्तै ‘पोजिटिभ’ कुरा हो । दोस्रो चरणको निर्वाचन तत्काल भइहाल्छ । प्रचण्डले राजिनामा दिइसकेपछि प्रचण्डको सरकार काम चलाउ सरकार भयो । शेरबहादुर देउबाको नेतृत्वमा सरकार गठन हँुन अझै १०/१५ दिन लाग्ने देखिन्छ । त्यतिबेलासम्म चुनाव आइसक्छ । त्यसकारण प्रचण्डको राजिनामाले कतै यो निर्वाचनलाई असुविधा पार्लाकी, निर्वाचनको तयारीमा ध्यान नपुग्ला की, संयोजनमा ध्यान नपुग्ला की भन्ने चिन्ता छ । यसरी हेर्दा प्रचण्डको राजिनामाको विषयमा २ पाटो देखिन्छ ।
प्रचण्ड नेतृत्वमा रहेको सरकारको १० महिने कार्यकाल समग्रमा सफल देखियो । उहाँले राजिनामा दिँदै गर्दा देशबासीका नाममा सम्बोधन गर्दा पनि सबै कुरा भन्नु भएको छ । आफुले गरेका कामलाई राम्रो भन्नु त नेताहरुको कामै हो । तर हामीले आफ्नो नाङ्गो आँखाले हेर्दाखेरि प्रचण्डले २ वटा काम चाही राम्रो गर्नु भयो । पहिलो अनेक दुविधा, कलह, असझदारीका बीचमा स्थानीय निकायको निर्वाचन गराउनु भयो । एका तिर एमाले छ, अर्को तिर मधेसी मोर्चा छ ।
तिनका बीचमा केही कुरा मिल्दैनन् । एमालेलाई अलिकति सहमतिमा ल्याउन खोज्यो मधेश उछिट्एिर कहाँ पुग्छ । मधेशीलाई सहमतीमा ल्याउन खोज्यो एमाले उछिट्टिएर कहाँ पुग्छ । घडिको लंगुर जस्तो भएर, दुई जिब्रे भनिँदै, उपहास गरिँदै पनि कमसेकम प्रचण्डको नेतृत्वमा निर्वाचन प्रारम्भ भयो । यो निर्वाचन भनेको सामान्य निर्वाचन होईन । यो चाँही संघीयताको एजेण्डालाई कार्यान्वयनमा प्रवेश गराउने पहिलो र अत्यन्तै महत्वपूर्ण कदम हो । स्थानीय निकायको निर्वाचन मात्र नभएर स्थानीय सरकारको निर्वाचन हो । जनताले आफ्नो आदेशमा आफै माथि शासन चलाउने सरकारको निर्वाचन हो । त्यही हुनाले निर्वाचन गराएर एउटा काम राम्रो गरे ।
दोस्रो कुरा चाँही, अहिलेको चुनावमा प्रचण्डको नेतृत्वमा रहेको पार्टी पहिलेको भन्दा खुम्चिने र सानो हुनेछ भनेर बिश्लेषक विद्वान भनिनेहरुको अनुमान थियो । त्यो अनुमान पूर्णतया असफल भयो । प्रचण्ड नेतृत्वमो संविधानसभाको दोस्रो चुनावमा मत संख्या र पद संख्या जति थियो त्यो भन्दा अहिले बढेको देखिन्छ ।
पार्टीको अवस्थालाई पनि राम्रो बनाए र निर्वाचनको प्रारम्भ गरे । प्रचण्डबाट यी दुई वटा काम राम्रो भए । दोस्रो कुरा प्रचण्ड केपी ओलीलाई छोडेर प्रधानमन्त्री भएको बेला प्रचण्डलाई ‘भारतीय दलाल हो’ चिनसँग भएका सम्झौताहरु पुरा हुँदैनन्’ भन्ने ठुलो हल्ला गरिएको थियो । तर प्रचण्डले अत्यन्तै व्यवहारिक ढङ्गले एउटा उपप्रधानमन्त्रीलाई चिन पठाए र अर्को उपप्रधानमन्त्रीलाई भारत पठाए । यसरी संयोजन गर्दै भारत र चीनकोबीचमा सन्तुलित सम्बन्ध स्थापित गराए । यो पनि सकरात्मक कुरा नै हो । अर्को कुरा चिनसँग भएका सन्धी सम्झौतालाई महत्व दिए । यसरी हेर्दा प्रचण्ड सकारको १० महिने शासन सत्ता तुलनात्मक र अपेक्षित रुपमा सफल नै देखियो ।
ओली सरकार एउटा ‘गफाडी’ सरकार हो । ओली सरकारले कुरै कुरामा आगनमा रेल ल्याउने, कुरै कुरामा जहाज उडाउने, कुरै कुरामा पाइपबाट घरघरमा ग्याँस ल्याउने जस्ता गफ फ्याकेकै हो । प्रचण्ड सरकार चाँही ‘गफ’ भन्दा पनि प्राक्टिकल देखियो । हुन त प्रचण्डको भाषणमा पनि गफ नदेखिएको होइन तर प्रचण्डको सरकार धरातलमा किन उभियो भने केपी ओलीको सरकार भारत बिरुद्ध चिनको पक्षमा थियो । चिनको आड पाएर भारतको निन्दा र बिरोध गरि रहेको थियो । नेपाल एउटा विशाल देशहरुको बीचमा भएको हुनाले कुनै एउटा देशको पक्षमा उभिएर अर्को देशको बिरोध गर्न थाल्यौ भने हामी अप्ठेरोमा पर्छौं । तर प्रचण्ड नेतृत्वको सरकार कुटनीतिक सम्बन्धलाई सन्तुलनको आधारमा अघि बडाउने सवालमा सफल भयो । केपी ओलीको नेतृत्वमा जे जति महत्वपूर्ण कराहरु भएका थिए तिनलाई ग्रहण गरेर कार्यन्वयनको बाटोमा पनि लगेको छ । तुलनात्मक रुपमा भन्नु पर्दा ओली सरकार भन्दा प्रचण्ड सरकार अलि बढी सकारात्मक, व्यवहारिक र परिपक्क लाग्छ ।
राजनीति भनेको गणित जस्तो होइन । राजनीति त अनन्त कुरा हो । यसमा भावनाको कुरा हुन्छ, आदर्शको कुरा हुन्छ र आवेगको कुरा हुन्छ । तर प्रचण्ड नेतृत्वको सरकार अहिलेसम्मकै सफल र उत्कृष्ट सरकार भएकाले यो प्रथम भएको छ । परिक्षामा उत्रेको हुन्थ्यो भने प्रचण्ड सरकार प्रथम नै हुने सरकार हो । यो सरकारलाई अंक नै दिनु प¥यो भने ६० नम्बर त दिनै पर्छ । अघिल्ला सरकारहरु संग तुलना गर्दा यो सरकारले राम्रो गरेको छ ।
देश अहिले प्रचण्डको रोडम्यापमा हिँडेको छ
किशोर नेपाल,
पत्रकार लेखक तथा राजनीतिक विश्लेषक ।
प्रचण्डको १० महिने कार्यकाल समग्रमा सफल देखियो । जनताका समस्यालाई बुझ्नु भयो । खास गरेर शहरबासीले भोग्नु परेको लोडसेडिङ्गका समस्यालाई सामाधान गरिदिनु भयो । महंगी नियन्त्रणमा पहल गर्नु भयो । छिमेकी राष्ट्रसँगको सम्बन्धका विषयमा पनि उहाँले उदारवादी चरित्र देखाउनु भयो । मधेशका समस्या सुल्झाउनका लागि वार्ता गर्नु भयो । उहाँले राजिनामा दिने बेला जे बोल्नु भयो आफुले गरेका सबै यथार्थ कुरा बोल्नु भयो । यसमा कुनै बढाइ चढाई देखिएन । उहाँले जे बोल्नु भयो त्यो गर्नु भयो, जे गर्नु भयो त्यही बोल्नु भयो । त्यसकारण प्रचण्ड नेपाली राजनीतिमा आदर्श पात्र बन्न सफल हुनु भएको छ ।
प्रचण्डले गरेका कार्यलाई ओली सरकारको कार्यदिशा भन्नु नै गलत हो । भन्नका लागि त जे भने पनि हुन्छ । एउटाले गरेको कामलाई अर्कोले गरेको भनेर गलत ब्याख्या पनि हुन्छन् । तर अहिलेसम्म जे जति काम भएको छ त्यसको श्रेय प्रचण्डलाई नै जान्छ । सबै नेपाली जनताले, काङ्ग्रेस तथा माओवादी सबै मिलेर रोडम्याप बनाएका हुन् । तर यो रोडम्याप चाँही माओवादीको रह्यो र अहिले देश माओवादीको रोडम्याप अनुसार अगाडि बडेको अवस्था छ । प्रचण्ड सरकार निश्पक्ष रुपमा अहिलेसम्म कै सफल सरकार हो । यसमा कसैको दुई मत नै छैन ।