



उदयपुर । महिलामाथि हुने हिंसाको वर्तमान अवस्था तथा मिडियाको उत्तरदायित्वबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम उदयपुरमा सम्पन्न भएको छ । सोमबार नेपाल पत्रकार महासंघ शाखा उदयपुरको सभाहलमा तरङ्गिनी फाउन्डेशन, ओरेक नेपाल शाखा उदयपुर र रौता समुदाय हित केन्द्रको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा आयोजक तीनवटै संस्थाले आफ्नो संस्थागत गतिविधि, उद्देश्य तथा महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि गरिएका कामबारे प्रतिवेदन सार्वजनिक गरेका थिए । अन्तरक्रियाका क्रममा प्रस्तुत तथ्यांकअनुसार ओरेक र त्रियुगा नगरपालिकाको साझेदारीमा त्रियुगा नगरपालिका–१० बाँसबारीमा सञ्चालित महिला सुरक्षा आवासमा सन् २०२६ जनवरीदेखि मार्चसम्म १७ जना हिंसा पीडित महिलाले सेवा लिएका छन् ।
तीन महिनाको अवधिमा सुरक्षा आवास सेवा केन्द्रमा घरेलु हिंसाका ९, यौन हिंसाका ४, सामाजिक हिंसाका २ र अन्य २ गरी कुल १७ वटा हिंसाका घटना दर्ता भएका छन् । उमेरगत समूहअनुसार १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू सर्वाधिक पीडित रहेको तथ्यांकले देखाएको छ । सुरक्षा आवासका अनुसार यस उमेर समूहका अधिकांश पीडित जबरजस्ती करणी तथा यौन हिंसाबाट प्रभावित भएका छन् ।
कार्यक्रममा सहभागीहरूले महिलामाथि हुने हिंसाका घटना न्यूनीकरण, पीडितको संरक्षण तथा यस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा मिडियाले जिम्मेवार र संवेदनशील भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।