



उदयपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरमा पत्रकार सदस्यता शुद्धीकरण, संस्थागत सुदृढीकरण तथा श्रमजीवी पत्रकारको हकहित सुनिश्चिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सो ज्ञापनपत्र प्रेस सेन्टर नेपाल उदयपुर र समाजवादी प्रेस संगठन उदयपुरले संयुक्त रुपमा बुझाएका हुन् ।
नेपालको पत्रकारिता क्षेत्र हाल विश्वसनीयता संकट, पेशागत अवमूल्यन तथा गैर–पत्रकारको प्रवेशका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै शाखाका अध्यक्ष भक्तिविलास पोखरेललाई ज्ञापनपत्र बुझाइएको हो । अध्यक्ष पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा शाखासँग आबद्ध पत्रकारको संख्या बढ्दो भए पनि नियमित रुपमा सक्रिय पत्रकारिता गर्ने श्रमजीवी पत्रकार करिब ५५–६० जना मात्र रहेको यथार्थलाई ध्यानमा राख्दै सदस्यता शुद्धीकरण अभियान तत्काल सञ्चालन गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा विशेषगरी जिल्लास्तरमा पत्रकारिताको नाममा गैर–पेशागत गतिविधिमा संलग्न व्यक्तिहरुले महासंघको सदस्यता लिएर वास्तविक श्रमजीवी पत्रकारहरुको अधिकार, अवसर तथा प्रतिनिधित्वमाथि अन्याय गरिरहेको उल्लेख गरिएको छ । साथै, महासंघलाई वास्तविक पत्रकारहरुको साझा पेशागत संस्था बनाउन सदस्यता शुद्धीकरण, संस्थागत सुधार तथा पारदर्शी प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष पोखरेलले पत्रकार सदस्यता शुद्धीकरणबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै तत्काल जिल्ला कमिटीको बैठक बोलाएर आवश्यक प्रक्रिया अगाडि बढाइने बताए । यस कार्यमा सबै पक्षको साथ र सहयोग आवश्यक रहने उनको भनाइ छ । ज्ञापनपत्रमा प्रेस सेन्टर नेपाल उदयपुरका अध्यक्ष अभिमन्यु लामिछाने र समाजवादी प्रेस संगठन उदयपुरका अध्यक्ष सुखिलाल चौधरीको हस्ताक्षर रहेको छ ।
हाल शाखामा आबद्ध पत्रकारको सदस्य संख्या १ सय ६ जना रहेको पाईएको छ । जसमध्ये विभिन्न सरकारी कार्यालयका स्थायी तथा अस्थायी कर्मचारी, विभिन्न राजनीतिक दलमा जिम्मेवारी सम्हालेका व्यक्ति, शिक्षक, ठेकेदार तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरु समेत सदस्य रहेको छ ।
