



रौतामाई । माछा मार्न जाने क्रममा सुनकोसी नदीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शव लिम्चुङबुङ गाउँपालिका–५ चौलानेका ५१ वर्षीय रामशेर राईको रहेको प्रहरीले जनाएका छन् ।
पाँच दिनअघि बेपत्ता भएका राईको शव जिल्लाको रौतामाई गाउँपालिका अन्तर्गत भदौरेस्थित सुनकोसी किनारमा शनिबार दिउँसो करिब ३ः४० बजे फेला परेको प्रहरीले जनाएको छ । गत मंगलबार अन्य ८ जना साथीसँग माछा मार्न जाने क्रममा राई लिम्चुङबुङ गाउँपालिका–४ सारनलुङस्थित सुनकोसीबाट बेपत्ता भएका थिए ।
बिहान करिब ११ बजे बेपत्ता भएपछि स्थानीय बासिन्दा र प्रहरी टोलीले खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।राई कसरी बेपत्ता भए भन्नेबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
उनीसँगै गएका अन्य साथीहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको छ।