



गजेन्द्र राई
उदयपुर । अवैध रूपमा खयर जातको काठ कटान भइरहेको विषयमा अख्तियारमा उजुरी दिएका व्यक्ति नै वन कार्यालयद्वारा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–९, रामपुर निवासी भिमप्रसाद घिमिरे रहेका छन् ।
डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्र कुमार श्रेष्ठका अनुसार घिमिरेलाई शनिबार पक्राउ गरिएको हो । उनलाई राष्ट्रिय वन क्षेत्रबाट वन पैदावार हटाउने, ओसारपसार वा बिक्री–वितरण गरेको आरोपमा वन मुद्दाअन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।
घिमिरेलाई उदयपुर जिल्ला अदालतको २०८३ वैशाख ११ गतेको अनुमति पत्रका आधारमा पक्राउ गरिएको हो । हाल उनलाई डिभिजन वन कार्यालय गाईघाटको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
घिमिरेले केही दिनअघि मात्र उदयपुरको बेलका नगरपालिका क्षेत्रमा अवैध रूपमा खयर काठ कटान भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा निवेदन दिएका थिए । उनले दिएको निवेदनमा डिभिजन वन कार्यालय गाईघाट तथा सव–डिभिजन वन कार्यालय मैनेमैनीका कर्मचारी, सामुदायिक वन उपभोक्ता समिति र केही ठेकेदारबीच मिलेमतो भएको आरोप लगाएका थिए ।
निवेदनमा डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्र कुमार श्रेष्ठ, वन अधिकृत जागेश्वर साह, कम्प्युटर अपरेटर सञ्जय कामत, सव–डिभिजन वन कार्यालय मैनेमैनीका प्रमुख युवराज दर्लामी मगर, फरेस्टर राजकुमार मोक्तान, वन रक्षक अर्जुन खड्का र वन जमदार गिरिराज मगर लगायतको संलग्नता रहेको उल्लेख गरिएको छ ।
उजुरीकर्ता नै पक्राउ परेपछि उक्त प्रकरणमा सत्यतथ्य के हो भन्नेबारे थप चासो बढेको छ । सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ ।
