



कटारी । उदयपुरको कटारीस्थित जयश्री मल्टी प्रपोज कम्पनीमा भएको कागजात चोरी प्रकरणमा एक पूर्व सेयरधनी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–४ मरुवा निवासी रमेश कटुवाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चैत २२ गते राति कम्पनी कार्यालयमा प्रवेश गरी लेखापाल धिरज कार्कीमाथि दुर्व्यवहार गर्दै केही महत्वपूर्ण कागजात लिएर गएको आरोप कटुवालमाथि लागेको छ । घटनाको भोलिपल्ट नै कम्पनीका तर्फबाट प्रहरीमा उजुरी दर्ता गरिएको थियो ।
उजुरी परेपछि फरार रहेका कटुवाललाई खोजी गर्ने क्रममा शुक्रबार नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानबाट उनी कम्पनीका पूर्व सेयरधनी रहेको र शेयर बिक्री गरिसकेपछि पनि कम्पनीमा आफ्नो अधिकार बाँकी रहेको दाबी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
उक्त दाबीका कारण कम्पनी र कटुवालबीच लामो समयदेखि विवाद हुँदै आएको बताइएको छ । सोही विवादको पृष्ठभूमिमा कागजात चोरीको घटना भएको हुनसक्ने आशंका गरिएको छ ।