



चौदण्डीगढी । उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना शुक्रबार बिहान मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट–रामपुर सडक खण्डमा भएको हो ।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको प्र ३–०१–००६ ख ९३७५ नम्बरको मालबाहक ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०५–००२ प १६०० नम्बरको मोटरसाइकल चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडाबाट करिब ५ सय मिटर पश्चिममा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक बेलका नगरपालिका–६ लामीडाँडाका ४० वर्षीय गजुरमान राई र पछाडि सवार ३५ वर्षीया शान्ति राई गम्भीर घाइते भएका छन् । स्थानीय बासिन्दाले तत्काल उद्धार गरी घाइतेहरूलाई प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीले दुवै जनालाई उपचारका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले ट्रक, चालक तथा मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।